close

७० घण्टामा अडियो काण्ड छानविन गरी कारबाहीको दायरामा ल्याउछु: रवि लामिछाने

टेकपाना टेकपाना

चैत २६, २०७९ १९:५०

७० घण्टामा अडियो काण्ड छानविन गरी कारबाहीको दायरामा ल्याउछु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदको अडियो काण्डबारे ७० घण्टाभित्र छानविन गरी कारबाहीमा ल्याउने दाबी गरेका छन् । बाराको एक चुनावी सभामा भाषण दिँदै उनले त्यसो गर्न नसके आफूलाई नजिकैको गढीमाईंमा लगेर बली दिन समेत चुनौती दिएका छन् ।

आफूले सामाजिक सञ्जालबाट घुस प्रकरणको अडियो बारे थाहा पाएको उनले बताए । "भ्रष्ट्राचारको विषयमा हाम्रो भनाई, हाम्रो गराई सधैँ एउटै हो । चाहे जसले गरोस् कुनै सरोकारको विषय हुँदैन," उनले भनेका छन् । अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टी पङ्तिमा अल्टिमेटम सहित निर्देशन दिएको छु कि ७२ घण्टाभित्र छानविन गरेर कारबाही अगाडि बढाउनु ।"

"देशका भष्ट्राचारका काण्डहरू ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलव छैन । हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुन्छ," उनले भाषणकै क्रममा अगाडि भने, "७२ घण्टाभित्र छानविन नहुन्जेल संसद्‌को रुपमा वा साधारण सदस्यको रुपमा हाम्रा सांसद ढाकाकुमार श्रेष्ठलाई हामीले कहिँ पनि पठाउने छैनौँ, कुनै कार्य गर्न दिने छैनौँ ।" 

आफूले ७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा भइसकेको भन्दै उनले बाँकी ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्ने बाचा गरे । "यदि सकिनँ भने यही गढीमाईमा बली दिनु होला," उनले भने । पार्टीले आफ्नो तर्फबाट गर्ने छानविनका अलावा त्यसबीचमा सांसद श्रेष्ठलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनमा अनुसन्धानका लागि आफैँले हस्ताक्षर गरेको निवेदन लिएर जाने लामिछानेले बताए  । "...र भन्छु मेरो सांसदले कसैसँग घुसमा डिल गरेको रहेछ भने सख्त कारबाही गर्नुहोला," उनले भने । 

आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस माग्दै गरेको टेलिफोन संवादको अडियो बाहिरिएको  थियो । 

अपडेटः यस अघिको शीर्षक परिवर्तन गरिएको छ । स.

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १२:३३