close

ट्वीटरमा अब १० हजार अक्षरको ट्वीट गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १, २०८० १७:४२

ट्वीटरमा अब १० हजार अक्षरको ट्वीट गर्न सकिने

काठमाडौं । ट्वीटरले आफ्ना ब्लु सब्सक्राइबरका लागि १० हजार क्यारेक्टर (अक्षर) का ट्वीट लेख्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक ट्वीट गर्दै यस्तो फिचर सार्वजनिक भएको जानकारी दिएकाे हो ।

यससँगै ब्लु सब्सक्राइब प्रयोगकर्ताले पोस्टमा इटालिक तथा बोल्ड टेक्स्ट राखेर ट्वीट गर्न सक्नेछन् । गत फेब्रुअरीमा कम्पनीले चार हजार क्यारेक्टरका ट्वीट राख्नसक्ने फिचर सार्वजनिक गरेको थियो ।

सामान्य प्रयोगकर्ताले ट्वीट गर्दा कम्तीमा २८० क्यारेक्टका पोस्ट राख्न सक्छन् । यदि लामो ट्वीट राख्नुपर्‍यो भने थ्रेड राख्नपर्ने हुन्छ । यस्तो झन्झटलाई हटाउन कम्पनीले आफ्ना 'ब्लु सब्सक्राइबर' का लागि एक पटकमा १० हजार क्यारेक्टरका शब्द राख्नसक्ने फिचर ल्याएको हाे ।

यससँगै ट्वीटरका मालिक एलन मस्कले उक्त प्लेटफर्ममा क्रियटर मोनिटाइजेसन टुल पनि सार्वजनिक गर्ने तयारी गरेका छन् । बिहीबार एक ट्वीटमार्फत मस्कले ट्वीटरका क्रियटरले मोनिटाइजेसन तथा अफर सब्स्क्रिप्सनका लागि आवेदन दिनसक्ने घोषणा गरेका थिए ।

अबको १२ महिनामा ट्वीटरले एप्पल र गुगललाई शुल्क तिरिसकेपछि  सब्स्क्रिप्सनबाट आएको रकम क्रियटरलाई वितरण गर्ने मस्कको भनाइ छ । उनले ट्वीटमा रिप्लाई गर्दै भनेका छन्,  "एप्पल र गुगलको कर घटेर १५ प्रतिशतमा सीमित हुनेछ । त्यसपछि सामाजिक सञ्जालका कम्पनीले क्रियटरबाट कम शुल्क लिनेछन् । "

हुन त गुगलले आफ्नो नीतिमा सब्स्क्रिप्सनवापत १५ प्रतिशतमात्र शुल्क लिने बताएको छ । तर, मस्कले गुगलले सबस्क्रिप्सन शुल्क बापत ३० प्रतिशत लिन्छ भनेर किन लेखे प्रस्ट छैन ।

क्रियटरले ट्वीटरको अफरमा सहभागी हुन मासिक २.९९ डलर, ४.९९ डलर र ९.९९ डलर तिर्नुपर्ने हुन्छ । उक्त क्रियटर मोनिटाइजेसन कार्यक्रममा सहभागी हुनका लागि प्रयोगकर्ता १८ वर्षभन्दा माथिको हुनुपर्छ ।

साथै उक्त प्रयोगकर्ताको ट्वीटर ह्यान्डलमा १० हजार सक्रिय प्रयोगकर्ता हुन आवश्यक छ । त्यसैगरी उनीहरूले अन्तिम ३० दिनमा २५ ओटा ट्वीट गरेको हुनुपर्छ ।

अहिले भने ट्वीटरको मोनिटाइजेसन फिचर अमेरिकाका प्रयोगकर्तामाझ मात्र उपलब्ध छ । मस्कले बताए अनुसार यो कार्यक्रम छिट्टै नै अन्य देशमा पनि लागू हुनेछ ।

सन् २०२१ मा सार्वजनिक भएको यो फिचर पुनः सुरु गर्न कम्पनीले थुप्रै प्रयास थालेको छ । यो मोनिटाइजेसन फिचर लामो भिडिओमार्फत वा लामो टेक्स्टमार्फत आम्दानी गर्न सकिने जनाइएकाे छ ।

ट्वीटरमा लामा टेक्स्ट राख्ने फिचर नौलो भने होइन । कम्पनीले गत जुन महिनामा नै 'ट्वीटर नोट्स' फिचर सार्वजनिक गरेको थियो । तर, पछि प्रभाव पार्न नसकेपछि सो फिचर बन्द भयाे । कम्पनीको सम्पूर्ण स्वामित्व आफूले लिएपछि मस्कले ट्वीटरको न्यजुलेटर टुल 'रेभ्यु' (Revue) पनि बन्द गरेका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० १७:४२