काठमाडौं । मोबाइल हराउँदा एक महिला साइबर अपराधबाट पीडित हुन पुगेकी छन् । मोबाइल हराउनुअघि डिभाइसमा उनका सामाजिक सञ्जाल लगइन अवस्थामै थिए । ती अकाउन्टमा रहेका तस्वीरहरूमा अश्लील शब्दहरू राखी सार्वजनिक रुपमै पाेस्ट हुन थालेपछि उनी आत्तिन् ।
यतिसम्म कि महिलाकी सहोदार दाइलाई समेत अपरिचित महिला-पुरुषको यौनजन्य भिडिओ पठाउन थालियो । यसपछि आफ्नो मान-प्रतिष्ठा तथा चरित्र हत्या भएको भन्दै पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिइन् ।
ब्यूरोले प्राप्त निवेदन माथिको विश्लेषण तथा अनुसन्धान र ह्युमन इन्टेलिजेन्सको माध्यममार्फत सो आपराधिक कार्य गरेको आरोपमा रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ५ का २२ वर्षीय ओम प्रकाश महरालाई गत ४ वैशाखमा पक्राउ गरको छ ।
आरोपी महरामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।