close

एनपी सर्टको वेबसाइट सार्वजनिक, आईपी एड्रेसदेखि लिङ्कसम्म स्क्यान गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १९, २०८० १६:३६

एनपी सर्टको वेबसाइट सार्वजनिक, आईपी एड्रेसदेखि लिङ्कसम्म स्क्यान गर्न सकिने

काठमाडौं । सरकारले गठन गरेको सूचना प्रविधि आकस्मिक सहायता समूहको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त वेबसाइट सार्वजनिक गरेकी हुन् । 

एनआईटर्ट (नेसनल इन्फर्मेसन टेक्नोलोजी इमर्जेन्सी रेस्पोन्स टिम) नाम दिइएको उक्त वेबसाइटमा विभिन्न आईपी एड्रेस, यूआरएल तथा लिङ्कहरू स्क्यान गर्ने फिचर राखिएको छ । यसका लागि वेबसाइटले एन्टिभाइरस सफ्टवेयर भाइरस टोटलको टूल प्रयोग गरी मालवेयर तथा मिलिसियस सामग्रीका प्रकारहरू पत्ता लगाउने र शंकास्पद फाइलहरू तथा यूआरएलहरूलाई विश्लेषण गर्ने गरेको छ । 

नेपालको राष्ट्रिय सर्ट (एनपी सर्ट) को रुपमा रहेको उक्त समूहको जानकारी तथा गतिविधि समेत वेबसाइटमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै साइबर हाइजिन तथा विश्वव्यापी साइबर सुरक्षा सम्बन्धी समाचार एवम् लेखहरू पढ्न सकिने, साइबर घटना, फिशिङ आक्रमण वा प्रयास सम्बन्धी रिपोर्टिङ गर्न सकिने, समूहले जारी गरेका एड्भाइजरी पढ्न सकिने लगायतका सुविधा पनि वेबसाइटमा पाउन सकिन्छ । 

साइबर सुरक्षा जोखिमको पहिचान, त्यसबाट हुने असरको न्यूनिकरण र आकष्मिक साइबर सुरक्षाको व्यवस्था गर्न भन्दै सरकारले सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गरेको छ ।

समूहलाई नेपालभित्र साइबर सुरक्षाको अवस्थाको नियन्त्रण तथा अनुगमन गर्ने र साइबर सुरक्षा सम्बन्धी घटनाहरूका लागि २४ सै घण्टा उपलब्ध हुने गरी सम्पर्क विन्दुको रुपमा काम गर्ने जिम्मेवारी तोकिएको छ ।

 साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने वा गराउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सम्पर्क विन्दुको रुपमा काम गर्ने काम पनि समूहले गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १६:३६