close

सीईओ सुन्दर पिचाईको तलब धेरै भएको भन्दै गुगलका कर्मचारी असन्तुष्ट

टेकपाना टेकपाना

बैशाख २२, २०८० २२:३२

सीईओ सुन्दर पिचाईको तलब धेरै भएको भन्दै गुगलका कर्मचारी असन्तुष्ट

काठमाडौं । गुगलको अभिभावक कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईको तलबलाई लिएर कर्मचारीले असन्तुष्ट व्यक्त गरेका छन् । कम्पनीले अनेकन् शीर्षकमा खर्च कटौती गरिरहेको बेला सीईओको तलबमा वृद्धि गर्ने काम भएपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन् ।

केही समयअघि अल्फाबेटको सञ्चालक समितिले ७० अर्ब डलरको स्टक आफैंले किन्ने निर्णय गरेपछि कर्मचारीको असन्तुष्टि सतहमा आएको थियाे । सो निर्णय लगत्तै कम्पनीको शेयर तीन प्रतिशतले वृद्धि भएको थियो ।

सीईओ पिचाईको तलब प्रत्यक्ष रुपमा बोनस र कम्पनीको शेयरसँग जोडिएको हुन्छ । कम्पनीको उक्त निर्णयपछि उनको तलब स्वत: बढ्छ । यही कुरालाई लिएर कर्मचारीहरूले पिचाईको तलबबारे असन्तुष्ट व्यक्त गरेका हुन् ।

उनीहरूले कम्पनीलाई वर्तमान चुनौतीबाट उकास्न उनले केही पर्याप्त काम नगरेको समेत गुनासाे गरेका छन् । साथै उनीहरूले आर्थिक मन्दीका बेला एप्पलका सीईओ टिम कुक लगायत अन्य सीईओले जस्तै तलब कटौती नगरेकोमा पिचाईको आलोचना गरेका छन् ।

अल्फाबेटले १२ हजार कर्मचारीलाई एकै पटक जागिरबाट हटाउनुका साथै विभिन्न खर्च कटौती गरिरहेको छ । तर कम्पनीले सीईओ पिचाईलाई भने फाइदा पुग्ने काम गरेको कर्मचारीहरूकाे गुनासाे छ । गत वर्ष उनी अमेरिकामा सबैभन्दा धेरै कमाउने सीईओमध्ये एक बनेका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० २२:३२