close

अब नागरिक लगानी कोषमा अनलाइनबाटै रकम जम्मा गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २४, २०८० ९:१५

अब नागरिक लगानी कोषमा अनलाइनबाटै रकम जम्मा गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै नागरिक लगानी कोषमा रकम जम्मा गर्न सकिने भएको छ । नागरिक लगानी कोषले कोषका कार्यक्रममा सहभागी कर्मचारीहरूको कार्यालयले अनलाइनबाटै कर्मचारीको कोष खातामा कोष कट्टी रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यो सुविधा सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयले प्रयोग गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा कोषका कर्मचारीले एप्रुभ गर्ने बित्तिकै सम्बन्धित कर्मचारीको खातामा रम जम्मा हुनेछ ।

तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीहरूका कार्यालयले पाउनेछन् ।

त्यस्ता कार्यालयहरूले आफ्ना कर्मचारीहरूको निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट पठाउन सक्नेछन् । कर्पोरेट-पे सुविधा लिएका कार्यालयहरूले भने कर्पोरेट पे प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् ।

यस प्रणाली अनुसार रकम दाखिला गर्न चाहने कार्यालयले आफ्ना कर्मचारीहरूको नाम, थर र कोषले प्रदान गरेको परिचयपत्र नम्बर समेतको विवरण कोषको ई-सर्भिस पोर्टल http://eservice.nlk.org.np/ मार्फत भरेर सो विवरण सब्मिट गरेपछि प्राप्त हुने सब्मिसन नम्बर तथा अफिस कोड सहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले सब्मिसन नम्बर तथा अफिस कोडको आधारमा बैंकमा रहेको बैंक सेन्ट्रल मोड मार्फत रकम जम्मा गरिदिने बताइएको छ ।

यसरी बैंकले बैंक सेन्टर मोड्युल मार्फत दाखिला गरेको कारोबार रकम सहितको विवरण एनसीएचएलले कोषको कोर सिस्टम मार पुश गर्नेछ । उक्त विवरणलाई कोषले भेरिफाइ गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीहरूको कोषको खातामा रकम जम्मा हुनेछ ।

यसरी रियल टाइममा २० लाख रुपैयाँसम्मको रकम जम्मा गर्न सकिनेछ भने सो भन्दा माथि २० करोड सम्मको रकम नन्-रियलटाइममा जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्पोरेट-पे सुविधा लिएका कार्यालयहरूले यो सुविधा आफैँले कर्पोरेट-पे मार्फत आफ्नो भुक्तानी खाताबाटै गर्न सक्नेछन् ।

यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुनेछ । यसरी बैंक वा कर्पोरेट-पे मार्फत नागरिक लगानी कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका तीन लाख भन्दा बढी सहभागीहरूलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास कोषले गरेको छ ।

यो माध्यमबाट कोष कट्टी रकम दाखिला गरेपछि कोषमा फाँटवारी र बैंक भौचर विगतमा पठाए जस्तै पठाउनु पर्ने छैन । यस प्रणालीको अपरेसन म्यानुअल कोषको वेबसाइटः www.nlk.org.np मा रहेको डाउनलोड भित्र अनलाइन फाँटवारी कलेक्सन म्यानुअल शीर्षकमा सिकाइएको छ ।

निकट भविष्यमा शिक्षक कर्मचारी र स्थानीय एवम् प्रदेश स्तरका कार्यालयहरूको बीमा सम्बन्धी रकम पनि अनलाइन प्रणालीबाट सङ्कलन गर्ने व्यवस्था मिलाइने बताइएको छ । त्यसका लागि प्रदेश सहभागीहरूले परिचयपत्र बनाउन र सम्बन्धित कार्यालयहरूले कोषको ई-सर्भिस मार्फत अफिस कोड नम्बर उपलब्ध गराउन र भुक्तानीका लागि कर्पोरेट-पे प्रणाली लिन आआफ्नो सम्बन्धित बैंकमा सम्पर्क राखी उक्त सुविधा लिन भनिएको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० ९:१५