काठमाडौं । जिमेलमा प्रयोगकर्ताको ईमेल लेखिदिने एआई फिचर आउने भएको छ । गुगलले ईमेल लेख्दाको झन्झटिलो तथा तनावयुक्त कामलाई हलुका बनाउन नयाँ एआई फिचर ल्याउन लागेको हो ।
बुधबार आयोजित गुगलको वार्षिक कार्यक्रम गुगल आई/ओका क्रममा कम्पनीका सीईओ सुन्दर पिचाईले 'हेल्प मि राइट' नामक फिचरको घोषणा गरेका थिए । कम्पनीको प्रोप्राइटरी एआईमा आधारित यो फिचरले जिमेलमा स्वचालित तवरमा सन्देश तयार पारिदिनेछ ।
एक अर्ब ८० करोड सक्रिय प्रयोगकर्ता रहेको जिमेलमा 'हेल्प मि राइट'ले ईमेलमार्फत गरिने सञ्चारमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गुगलले सन् २०१८ मा ल्याएको 'स्मार्ट कम्पोज' तथा सन् २०१७ मा ल्याएको 'स्मार्ट रिप्लाई' फिचरमै 'हेल्प मि राइट' लाई राख्ने बताइएको छ, जसमा स्मार्ट रिप्लाईले आधारभूत स्वचालित रिप्लाई र स्मार्ट कम्पोजले तपाईंले टाइप गर्दा सजेसन अर्थात् सुझावहरू दिने गर्छन् ।
तर हेल्प मि राइट आधारभूत प्रोम्प्टदेखि पूर्ण ईमेल तयार पार्नेसम्म जानेछ । त्यसमा रहने 'रिफाइन' बटनले लिखित सामग्रीलाई संक्षिप्त बनाउन, विस्तार गर्न वा ईमेललाई थप औपचारिक बनाउन सक्छ ।
त्यसपछि तपाईंले ईमेल एडिट गर्न वा पठाउन सक्नुहुन्छ । गुगल आई/ओका क्रममा पिचाईले एउटा एयरलाइन्स कम्पनीबाट रद्द गरिएको टिकेटको रिफन्ड माग्ने प्रयोजनका लागि 'हेल्प मि राइट'को डेमो देखाएका थिए ।
'हेल्प मि राइट' गुगल डक्स र जिमेल टेस्टरका लागि गत मार्चदेखि नै प्रयोगमा छ । गुगल टेस्टरहरूको त्यस्तै समूहले गुगल शिट र गुगल स्लाइडमा आगामी जुनबाट एआई सहयोगी प्रयोग गर्न थाल्नेछन् ।
पिचाईका अनुसार गुगल वर्कस्पेसको एउटा अपडेटमार्फत 'हेल्प मि राइट' गुगल प्रयोगकर्तामाझ औपचारिक रुपमा सार्वजनिक हुनेछ । तर त्यसको समयतालिका भने खुलाइएको छैन ।