close

विद्युतीय सवारीको प्रयोग बढाउन सके आर्थिक अवस्था सुधार हुन्छ: सांसद चौधरी

टेकपाना टेकपाना

जेठ २, २०८० ८:०

विद्युतीय सवारीको प्रयोग बढाउन सके आर्थिक अवस्था सुधार हुन्छ: सांसद चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी तथा प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले जीवाष्म इन्धनलाई घटाएर विद्युतीय सवारी साधनको प्रयोग बढाए आर्थिक अवस्था सुधार हुने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन दिनुपर्ने बताएका हुन् । उनले बढ्दो इन्धन मूल्य र वातावरण प्रदूषणका कारण विद्युतीय सवारी साधनमा आम मान्छेहरूको रूचि बढि रहेकाले आउँदो बजेटमा बिजुली गाडीलाई प्रोत्साहन गर्ने केही बुँदा थप्नु पर्ने बताए । 

“नेपाल आयल निगमले यो आर्थिक वर्षमा अहिलेसम्म २ खर्ब २४ अर्ब ५७ करोड ५७ लाख १३ हजार ७२५ रुपैयाँ बराबरको इन्धन आयात गरेको छ,” उनले भने, “यो रकम नेपालको अर्थतन्त्रको ठूलो हिस्सा हो । अब ब्याट्री साट्ने (एक्सचेन्ज) जस्ता नियम ल्याउनु पर्छ । यसले आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्छ ।” 

साथै उनले राजमार्गसँग जोडिएका पर्यटकीय स्थानहरूमा चार्जिङ स्टेसन थप्न समेत माग गरे । त्यस्तै व्यापारिक भवन, ठूला-ठूला होटलमा बाध्यात्मक रूपमा चार्जिङ स्टेसन राख्ने व्यवस्था गर्नु पर्नेमा समेत जोड दिएका थिए  । 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० ८:०