close

बचेको विद्युत हाइड्रोजन युरिया उत्पादनमा खर्च गरौँ: सांसद शुक्ला

टेकपाना टेकपाना

जेठ ८, २०८० १८:२४

बचेको विद्युत हाइड्रोजन युरिया उत्पादनमा खर्च गरौँ: सांसद शुक्ला

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारलाई बचेको विद्युत हाइड्रोजन युरियामा खर्च गर्न सुझाव दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शुक्लाले यस्तो सुझाव दिएका हुन् ।

सन् २०३० सम्म नेपालमा १०,००० मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएकाेमा त्यसमा ३,००० मेगावाट बच्ने भन्दै उनले उक्त विद्युतलाई हाइड्रोजन युरिया बनाउन खपत गर्नुपर्ने धारणा राखे ।

"२०३० मा हाम्रो विद्युत उत्पादनको एउटा फोरकास्ट छ कि १० हजार मेगावाट हुन्छ,” शुक्ला भन्छन्, “१० हजार मेगावाट भयो भने त्यो बेलाको हाम्रो कन्जम्प्सन सात हजार मेगावाट हुन्छ । र, तीन हजार मेगावाट सर्पलस (बाँकी) हुन्छ । अब यो सर्पलस विद्युतलाई यदि हामीले हाइड्रोजनको विकाससँग लगेर जोड्यौं भने उक्त विद्युत उपयोगी हुन्छ ।”

उनले यस्तो निर्णयलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे ।

“त्यो ३००० मेगावाट सर्पलसको सबैभन्दा बढी उपयोग हाइड्रोजन युरियाको निर्माणमा सदुपयोग गर्न सक्छौं । र, त्यसले २१ लाख ५० हजार मेट्रिक टन ग्रिन युरिया हामीलाई दिन्छ । जब कि गत वर्ष हामीले एक लाख ८० हजार मेट्रिक टन दियौं ।"

उनले सुझाव दिँदै भने, "सप्लाईको तेब्बर हामीले डिमान्ड मान्ने हो भने लगभग छ लाख मेट्रिक टन आजको हाम्रो डिमान्ड छ । त्यो २०३० सम्म निश्चित रूपमा बढेर जान्छ । त्यसैले हामीले प्रिप्लान गरेर युरियाको अनुभव हुन नदिने, मलको शर्टेज नहुने भन्न कुरा छ भने एउटा त द्रुत गतिमा विद्युतको विस्तार गर्नुपर्‍याे ।"

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १८:२४