close

ह्वाट्सएपमा ‘नेपाली भर्जिन गर्ल’ को पछि लाग्दा यसरी फसे दुई छोरीका बुबा

टेकपाना टेकपाना

जेठ २७, २०८० १५:५४

ह्वाट्सएपमा ‘नेपाली भर्जिन गर्ल’ को पछि लाग्दा यसरी फसे दुई छोरीका बुबा

काठमाडौं । रामेछापका २९ वर्षीय राधे शर्मा (नाम परिवर्तन) काठमाडौंमा सामान्य किराना पसल सञ्चालन गर्छन् । आफूले एसएलसी पनि पास नगरेका शर्मा छोरीलाई राम्रो शिक्षा दिने भन्दै सात वर्षअघि काठमाडौं आएका हुन् ।

बिहान ९ बजे पसलमा आउने, साँझ ८ बजे कोठामा जाने । यो नै शर्माको काठमाडौंको दिनचर्या हो ।

केही महिनाअघि सामान ल्याउने डिलरहरूले सम्पर्कमा रहन सजिलो हुने भन्दै उनलाई मोबाइलमा ह्वाट्सएप इन्स्टल गरेर प्रयोग गर्न सिकाएका थिए । एप इन्स्टल गरिसकेपछि विस्तारै शर्मा ह्वाट्सएप प्रयोग गर्नसक्ने भए । कुनै सामान चाहिए अर्डर गर्न र आफन्तसँग पनि सम्पर्क गर्न उनलाई ह्वाट्सएपले सघाएको थियो ।

यसरी केही महिनासम्म सबै ठीकै चलिरहेको थियो । गत जेठ ८ गते साँझतिर उनलाई एउटा एनसेलको नम्बरबाट ह्वाट्सएपमा मेसेज आयो । जसमा यस्तो लेखिएको थियो, “के तपाईं पनि सेक्स पार्टनर खोजिरहनु भएकाे छ ? अब ढुक्क हुनुस् Nepali Virgin Girl apk लाई install गर्नुहोस् र सेक्स पार्टनर खोज्नुहोस् । त्यसमा contact numer र फोटो साथै rate पनि त्यसमै छ । यो सुविधा नेपालको सबै ठाउँमा उपलब्ध छ App install garne तरिका Screenshot मा हेर्नुहोस ।”

यो मेसेजको तल नेपाली भर्जिन गर्ल डट एपीके फाइल थियो भने त्यसभन्दा अलि तल केही स्क्रिनशटहरू राखिएका थिए । शर्माले झट्ट स्क्रिनशट हेरे र उनलाई पनि एप के रहेछ भन्ने जान्न मन लाग्यो । भन्छन् “मान्छेको मन न हो, त्यस्तो एप छ भन्ने देखेपछि प्रविधिको जमानामा होला त नि भनेर क्लिक गरेँ ।”

सामान्य लेखपढ गर्न जानेका शर्माले त्यहाँ दिइएका प्रक्रिया बुझेनन् । र, एप त्यत्तिकै छोडे । उता त्यस्तो मेसेज पठाउने एनसेलको नम्बर ब्लक पनि गरे । त्यसपछि उनी ह्वाट्सएपमा सक्रिय हुन पाएनन् ।

भोलिपल्ट शर्माको घरमा सामान्य पूजा थियो । उनी त्यसैमा व्यस्त भए । दुई-चार दिनसम्म घरकै काममा अलमलिएका शर्माले कामबाट फुर्सद मिलेपछि फोन खोले ।

ह्वाट्सएपमा आएका मेसेज हेर्न मात्र के खाेजेका थिए उनको फाेनमा एप खुलेन । “मलाई त ह्वाट्सएप त्यति चाहिने चिज पनि थिएन । बन्द भएपछि बुझ्दै गरौंला त नि भनेर त्यत्तिकै छोडें,” उनी भन्छन् । 

जेठ १३ गते एक्कासि उनलाई ९८५ बाट सुरु हुने पोस्टपेड नम्बरबाट कल आयो । कल आउनासाथ ती व्यक्तिले शर्मालाई “त्यस्तो पनि मेसेज पठाउने हो” भन्दै झपारे ।

शर्मालाई ती पुरुषले किन थर्काए भन्ने केही थाहा थिएन । “स्वर भलादमी थियो, त्यस्ता मान्छेले एक्कासि किन गाली गरे मैले केही बुझेको थिइनँ,” आफूलाई त्यसरी आएको पहिलो कल सम्झिँदै शर्मा भन्छन्, “पछि कुरा गर्दै जाँदा मलाई आएको जस्तै मेसेज उनको नम्बरमा पनि मेरै ह्वाट्सएपको नम्बरबाट गएको रहेछ । कसरी गयो मलाई केही थाहा छैन ।”

त्यसपछि उनी दैनिक आउने सयौं कलबाट दिक्क हुन थाले । र, आफूलाई त्यस्तो समस्या कसरी पर्‍यो भन्ने बुझ्न उनी महारजगञ्ज प्रहरी वृत्त गए र सबै कुरा बुझाई उजुरी दिए ।

त्यसपछि पनि उनलाई दैनिक थुप्रै ठाउँबाट फोन आउन थाले । साइबर ब्यूरोको टिमले पनि यसबारे फोन गर्‍याे ।

“पोस्टपेड सिम प्रयोग गर्ने मान्छेले यसरी स्क्याम नगर्नुपर्ने भन्दै ब्यूरोबाट पनि फोन आएको थियो,” उनी भन्छन् ।

ब्यूरोले मोबाइल नम्बर र ईमेल लिङ्क भएका सबै अकाउन्टबाट अकाउन्ट अनलिङ्क गर्न सुझाव दियो । अनि बैंकमा गएर फोन नम्बर र ईमेल फरक राख्न अनुरोध गरे । आफ्नो मोबाइल बैंकिङमा रकम नराख्ने भएकाले शर्मालाई आर्थिक नोक्सानी भएन । तर, आर्थिक नोक्सानीभन्दा पनि उनलाई मानसिक तनाव बढी हुन थाल्यौ । दैनिक आउने सयौं कललाई उस्तै जवाफ दिँदादिँदै उनी दिक्क भइसकेका छन् । 

उनले सबै ठाउँबाट अकाउन्ट हटाए पनि “त्यस्तो मेसेज पनि पठाउने हो” भन्दै आउने कल दिनानुदिन बढिरहेका छन् । “मेरो ह्वाट्सएपबाट धेरैको अकाउन्टमा त्यस्तो मेसेज गइसकेको छ । मलाई धेरैले गाली गरिरहनु भएको छ । म आफैं पीडित हो । मलाई आउने फोन नम्बरले पनि धेरै पीडा दिएको छ,” उनी सुनाउँछन् । 

“फोन उठायो गाली आउँछ, नउठायो मेसेज आउँछ । स्वीच-अफ गर्‍यो त्यो एप मैले फैलाएको जस्तो हुन्छ,” सुस्केरा हाल्दै निराश भावमा शर्मा दुःखेसो पोख्छन् । 

उनलाई हरेक दिन कुनै न कुनै व्यक्तिले त्यही एपको बारेमा फोन गरिरहन्छन् । तर, धेरैले शुक्रबार र शनिबार फाेन गर्छन् । “शुक्रबार मानिस फ्रेश हुन खोजिरहेको हुन्छ, त्यस्तो बेला नेपाली भर्जिन गर्ल भन्दै एपको लिङ्क पाएपछि क्लिक गर्दा रहेछन् । क्लिक गरिसकेपछि मलाई कल गर्छन्,” सधैं जसो आउने फोन कल सम्झिँदै शर्मा भन्छन् । 

कैयौंले त्यो मेसेजले गर्दा दिन नै बिग्रिएको भन्दै दुःखेसो पोखेको उनी सुनाउँछन् । भन्छन्, “गुड फ्राइडे भनेर बाहिर निस्केको तपाईंको कारणले ब्याड फ्राइडे भो नि । बैंकको सबै पैसा सकियो । कस्तो तनाव दिएको भन्छन् ।”

शर्मा यी कुराहरू सुनेर ‘के गर्नु हजुर मैले पनि हजुरहरूले जस्तै गरेर के रै’छ बुझौं भनेर जाँच गर्न क्लिक गरेको’ भन्दै बस्छन् । उनीसँग सिम बन्द गर्ने बाहेक मानिसहरूबाट आउने कलबाट टाढिने अरू कुनै विकल्प छैन । त्यसैले भाेलि आइतबार उनी सिम बन्द गर्न टेलिकम जाँदैछन् । 

धेरै मानिसले उनकै कारण आफ्नो मेहनतको कमाइ गुमेको र आफन्तलाई आफ्नो नम्बरबाट त्यस्तो मेसेज गएको भन्दा उनी थप चिन्तित छन् । भन्छन्, “आफूलाई पर्‍यो भने मान्छेले बुझ्ने रहेछ । अब कसैले पनि अञ्जान नम्बरबाट आएका लिङ्क नखोल्नुहोला ।”

उनले आफ्नो फेसबुकमा पनि स्टाटस राख्दै सजग रहन अनुरोध गरेका छन् ।

विगतमा पनि शर्मालाई यस्ता मेसेज आइरहेका हुन्थे । विशेषगरी २५ लाखको चिठ्ठा पर्‍यो’ भन्दै उनलाई धेरै पटक मेसेज आएका थिए । एक पटक उनलाई त्यहाँ कसरी रकम पाउन सकिन्छ भन्ने कुराबारे थप बुझ्ने चाहना जागेको थियो । तर, काममा अलमलिएपछि उनले त्यो चिठ्ठाबारे बिर्सिए ।

“मेरो एउटा भाइ बैंकमा काम गर्छ । उसले त्यो झुक्याउनका लागि पठाइएको भनेर बुझाएपछि त्यसको वास्ता गर्न छाडेँ,” उनी सुनाउँछन् । के हुन्छ बुझौं न त भन्ने मनोभावले लिङ्क खोल्दा शर्मा अहिले धेरै ठूलो फन्दामा परेका छन् । उनकै कारण धेरैको दिन बिग्रिएको, रकम गायब भएको भनेपछि उनलाई आत्मग्लानि हुन थालेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० १५:५४