close

चलाउँदा चलाउँदै टेस्ला मोडेल वाईको स्टेरिङ फुत्किएपछि

टेकपाना टेकपाना

जेठ २८, २०८० १४:२५

चलाउँदा चलाउँदै टेस्ला मोडेल वाईको स्टेरिङ फुत्किएपछि

काठमाडौं । फेब्रुअरी महिनामा नयाँ टेस्ला मोडल वाई खरिद गरेको पाँच दिनमै गाडीबाट स्टेरिङ फुत्किएको घटना बाहिर आएको थियो । गाडीका मालिक प्रेरक पटेल न्यु जर्सीको वुडब्रिज मल नजिकको राजमार्गमा मोडेल वाईमा यात्रा गरिरहेका थिए । उनीसँगै गाडीमा उनकी श्रीमती र छोराछोरी पनि थिए । 

“म सामान्य गतिमा बायाँ साइडमा गाडी चलाइरहेको थिएँ,” पटेलले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिजनेस इन्साइडरला‌‌ई भने, “एक्कासि स्टेरिङ लुज भएर मेरो हातमा आयो । भगवानको आशीर्वादले, हामीभन्दा पछाडि कोही पनि थिएन ।” त्यसपछि उनले गाडी रोके र छेउमा लगेर पार्क गरे । 

पटेलका अनुसार उक्त घटना भएको करिब २० मिनेटपछि त्यहाँ प्रहरी आइपुग्यो  । त्यससँगै उनको गाडीलाई नजिकको टेस्ला सर्भिस सेन्टरमा लगियो ।

पटेलले सार्वजनिक गरेका फोटोमा गाडीको स्टेरिङ फुत्किएको देखिन्छ । उनले ट्वीटरमा ती फोटोहरू सार्वजनिक गरेका थिए । 

सर्भिस सेन्टरमा लगिएको टेस्ला मोडेल वाई फिर्ता लिन पटेलले अस्वीकार गरेका थिए । उनले भनेका थिए, “मलाई टेस्लाको गाडी किन्ने ठूलो रहर थियो । मोडेल वाई र मोडेल थ्रीको मूल्य घटेको थाहा पाएपछि  जनवरी १३ मा अर्डर गरेको थिएँ ।”

आफ्नो परिवारलाई त्यही जोखिममा राख्न नचाहेको नभन्दै पटेलले गाडी लिन अस्वीकार गरेका थिए । “यदि उनीहरू मलाई त्यही गाडी दिन्छन् भने त्यसलाई चलाउन म कम्फर्टेबल हुँदिन,” उनले भने, “मैले उनीहरूलाई कि नयाँ गाडी दिनुपर्छ वा रिफन्ड दिनुपर्छ भन्ने माग राखेको छु ।”  

उनी बारम्बार टेस्लासँग सम्बन्धित ट्वीट राखिरहेका थिए । उनका ट्वीटले धेरै मानिसहरूको ध्यान आकर्षित पनि गर्‍यो । 

त्यसको केही हप्तापछि टेस्लाले नयाँ मोडेल वाई उपलब्ध गराएको भन्दै पटेलले फेब्रुअरी २४ मा ट्वीट गरेका थिए । यो घटनापछि थुप्रैले आफूले पनि त्यस्तै समस्या पाएको भन्दै ट्वीट गरे । 

स्टेरिङ लुज हुने तथा फुत्किने घटना बढ्दै गएपछि कम्पनीले जुन २०२२ देखि मे २०२३ सम्म बिक्री भएकामध्ये १३७ ओटा टेस्ला मोडेल वाईलाई फिर्ता बोलाएको नेस्नल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १४:२५