close

किशोरीको अश्लील फोटो र भिडिओ बनाई उनका आफन्तलाई पठाउने विनोद सुनार पक्राउ

टेकपाना टेकपाना

जेठ ३२, २०८० १७:२५

किशोरीको अश्लील फोटो र भिडिओ बनाई उनका आफन्तलाई पठाउने विनोद सुनार पक्राउ

काठमाडौं । लकडाउनका बेला अनलाइन क्लास लिन शर्मिला शर्मा (नाम परिवर्तन) ले फेसबुक अकाउन्ट खोलेकी थिइन् । त्यहीबीच कञ्चनपुरका १८ वर्षीय विनोद सुनार नाम गरेका व्यक्तिले उनलाई फ्रेन्ड रिक्वेष्ट पठाए । चिनेकै व्यक्ति होलान् भनेर शर्मिलाले पनि फ्रेन्ड रिक्वेष्ट स्वीकारिन् । उनीहरू बोल्न थाले ।

कुराकानीकै क्रममा विनाेदले प्रेम प्रस्ताव राखे । किशाेरी शर्मिलाले पनि स्वीकारिन् । पछि बोल्दै जाँदा विनाेदले आफ्नो गोप्य अङ्ग देखाई भिडिओ कल गर्न दबाब दिने र भनेको नमाने प्रेम सम्बन्धबारे उनका बुबा, आमा लगायत आफन्तलाई भनिदिन्छु भन्ने खालका नराम्रा हर्कत गर्न थाले ।

त्यसपछि शर्मिलाले विनाेदलाई ब्लक गरिन् । तर त्यसको केही समयपछि विनाेदले ‘अनलाइन ग्रुमिङ’ गरी उनलाई दुर्व्यवहार गर्न थाले । उनले शर्मिलाको नक्कली अकाउन्ट बनाएर अनलाइनमा उनीसँग गरेको कुराकानी सम्पादन गरी अश्लील तस्वीर र भिडिओमा जोडेर दिदी लगायत आफन्तहरूलाई  पठाएर दु:ख दिन थाले ।

यस्ताे हर्कतले आफ्नो बदनाम, बेइज्जत भएकाले शर्मिलाले विनाेदविरुद्ध साइबर ब्यूरोमा उजुरी दिइन् । प्रहरीले जेठ ३० गते मंगलबार विनाेदलाई पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन २०६३, अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको ब्यूराेले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १७:२५