close

कहिलेदेखि सुरु होला नेपाल-भारत बीचको डिजिटल भुक्तानी ?

टेकपाना टेकपाना

असार १, २०८० १८:१८

कहिलेदेखि सुरु होला नेपाल-भारत बीचको डिजिटल भुक्तानी ?

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले नेपाल र भारतबीचको डिजिटल भुक्तानी सुरु हुन केही समय लाग्ने बताएका छन् ।

फिनटेक अलायन्स नेपालले शुक्रबार आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै प्रधानले नेपाल-भारत बीचको डिजिटल भुक्तानी कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा प्रश्न सोध्ने बेला अहिले नै नभएको बताएका हुन् ।  

"डिजिटल भुक्तानीका लागि सम्झौता भए लगत्तै हामीले प्राविधिक छलफल सुरु गरेका छौं," उनले भने, "पूर्वाधार इन्टिग्रेसनको काम भइरहेको छ । विस्तारै सबै काम अगाडि बढ्दै जाने भएकोले केही समय लाग्छ ।"

यो सेवा प्रयोगकर्ताले प्रयोग गरिरहेकै मोबाइल बैंकिङ अथवा अन्य कुनै भुक्तानीको प्लेटफर्ममा एउटा वैकल्पिक फिचरको रुपमा थप भएर आउने पनि उनले बताए । "भर्खर सम्झौता भएको कारण अहिले नै कहिलेदेखि सुरु हुन्छ भन्न सकिन्न । यो योजना हाम्रो वा अन्य कुनै निकायको मात्र नभइ जीटुजी लेभलमा सम्झौता भएको प्रोजेक्ट भएका कारण हामीले धेरै निकायहरूसँग काम गर्नुपर्ने हुन्छ," उनले बताए ।

अन्तरदेशीय डिजिटल भुक्तानीका लागि आवश्यक पूर्वाधार तयार गर्न पाँचदेखि छ महिना लाग्ने पनि उनले बताए । 

पछिल्लो अध्यावधिक: असार १, २०८० १८:१८