close

क्रिकेट प्रतियोगितामा वनएक्स ब्याटको प्रवर्द्धन हुँदा कलाकार झुक्किएर बेटिङ प्रचारमा लागेः राजा राजेन्द्र

टेकपाना टेकपाना

असार २, २०८० २०:४८

क्रिकेट प्रतियोगितामा वनएक्स ब्याटको प्रवर्द्धन हुँदा कलाकार झुक्किएर बेटिङ प्रचारमा लागेः राजा राजेन्द्र

काठमाडौं । कलाकार राजा राजेन्द्र पोखरेलले नेपाल क्रिकेट संघ (क्यान) ले वनएक्सको ब्याटको प्रवर्द्धन गर्दा कलाकार झुक्किएर बेटिङको प्रचारमा लागेको बताएका छन् । सामाजिक सञ्जाल टिकटकमा भिडिओ अपलोड गर्दै उनले क्यानले गरेका क्रिकेट प्रतियोगितामा वनएक्स ब्याटको शीर्ष प्रायोजन देख्दा कलाकारहरू झुक्किएको हुनसक्ने धारणा राखे ।

''यो पुरापुर गैरकानूनी छ, गर्न हुँदैन भन्ने कुरा उहाँहरू (कलाकार) ले सायद बुझ्नुभएन कि,'' पाेखरेल भन्छन्, ''कानूनले अज्ञानतालाई क्षमता गर्दैन भन्ने सिद्धान्त त छ तर, सँगसँगै क्यानले नेपाल प्रिमियर लिग गर्दा वनएक्स बेटकै त्यही लोगो र त्यही प्रकृतिमा वनएक्स ब्याट भनेर त्यही वनएक्स बेटबाटै भुक्तानी लिने गरेर जुन हिसाबबाट स्पोन्सर गरायाे, र नेपालको प्रतिष्ठित टेलिभिजनबाट निरन्तर लाइभ पनि गरायो । यसो भइरहँदा कलाकार साथीहरूले यो गैरकानूनी होइन कि, ठूलै टिभीबाट बजिरहेकै छ, क्यानले नै टाइटल स्पोन्सर लिइरहेकै छ भन्ने हिसाबले सोच्नुभयो कि !''

कलाकार र सेलिब्रेटीहरुले पनि कुन कराको विज्ञापन गर्ने र कुनको नगर्ने भनेर सोच्न आवश्यक रहेकाे पाेखरेलकाे मत छ । ​वनएक्स प्रकरणमा भने कलाकार प्रयोग भएको उनको बुझाइ छ । खेल खेलाउने र त्यसको विज्ञापन गर्ने कार्य फरक-फरक भएकाले त्यसलाई अलग हिसाबले व्यवहार गर्न उनले प्रहरी र सरकारसँग अनुरोध गरे ।

''वास्तवमा गेम खेलाउने व्यक्तिहरू काे हुन्, कसले खेलाइरहेको छ, र उहाँहरू (कलाकार) लाई त प्रयोग गरिएको हो भन्ने हिसाबले गर्दा खेलाउने र विज्ञापन गरिदिनेहरूको बीचको भेद छुट्याएर नेपाल प्रहरीले, नेपाल सरकारले यसमा 'ट्रिट' गरिदियोस् भन्ने कुरा मलाई व्यक्तिगत रुपमा लाग्छ,'' उनले भने ।

त्यस्तै अर्को टिकटक भिडिओमा पोखरेलले वनएक्स बेट विशुद्ध जुवा खेलाउने अड्डा र वनएक्स ब्याट स्पोर्ट्स पोर्टल भएपनि यी दुवैको साहु एउटै भएको बताए । ''यसमा जम्मा जम्मी अन्तर भनेको 'ए' र 'ई' मा मात्रै छ, विज्ञापन हेर्दा मान्छेले फरक महसुस गर्दैन,'' उनले भने । 

क्यानलाई वनएक्स बेटले पैसा तिरेको दाबी गर्दै उनले वनएक्स ब्याटले नेपालमा आफ्नो प्रचार गर्न त्यत्रो पैसा तिर्न नसक्ने जिकिर गरे ।

पछिल्लो अध्यावधिक: असार २, २०८० २०:५९