close

नेपाल टेलिकमको केबल तार चोरी गरेको आरोपमा समातियो क्लासिक टेकको गाडी !

टेकपाना टेकपाना

असार ४, २०८० १८:१६

नेपाल टेलिकमको केबल तार चोरी गरेको आरोपमा समातियो क्लासिक टेकको गाडी !

काठमाडौं । नेपाल टेलिकमको केबल चोरी कार्यमा संलग्न रहेको आरोपमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडी पक्राउ परेको छ । बालाजु प्रहरी वृत्तले क्लासिक टेकको बा १८ च ७७१३ नम्बरको गाडी सहित कर्मचारीलाई पक्राउ गरेको हो ।

नेपाल टेलिकम गोगंबु कार्यालय प्रमुख निर्मल घिमिरेले नेपालटार क्षेत्रमा प्रयोगमा रहेको करिब ८० मिटर कपर केबल चोरी भएको जानकारी दिए । एडीएसएल तथा ल्यान्डलाइन सेवाका लागि नेपालटार क्षेत्रमा टेलिकमले अझै कपर केबल प्रयोग गरिरहेको छ ।

“स्थानीयले ३१ जेठ बिहानको समयमा तार चोरी गरी गाडीमा राखेको अवस्थामा फोटो खिचेर हामीलाई खबर गरेका थिए,” उनले भने, “हिजो (आइतबार) हाम्रा साथीहरूले सोही क्षेत्रमा उक्त गाडी फेला पारेपछि प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।”

घिमिरेले क्लासिक टेकका अन्य कर्मचारीहरू समेत प्रहरी चौकीमा पुगेको बताए । बालाजु प्रहरी वृत्तका डीएसपी मनोजजित कुँवरले पक्राउ परेको गाडी क्लासिक टेकको रहेको पुष्टि गरे । “चोरी कार्यमा संलग्न व्यक्तिहरू माथि अनुसन्धान भइरहेको छ,” उनले भने । ”

टेलिकमको तर्फबाट केबल चोरी कार्यमा संलग्न सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरिएको कार्यालय प्रमुख घिमिरेले बताए । “हामीले अन्य स्थानमा समेत कम्पनीको केबल चोरी भएको र खोजी गरिदिन प्रहरी समक्ष आग्रह गरेका छौं,” उनले भने, “केबल कहाँ लगेर बेचेको भन्ने कुरा खुलिसकेको छैन ।”

क्लासिक टेकका उप महाप्रबन्धक रोजित भट्टराईले उक्त घटनामाथि अनुसन्धान भइरहेको बताए । “हामीले चोरी कार्यमा संलग्न रहेको पाइएपछि ती कर्मचारीलाई हटाइसकेका छौं,” उनले भने ।

“उनीहरूले हाम्रै सामान पनि चोरी गरेर स्थानीय आईएसपीलाई बिक्री गरेको समेत पाइएको छ । त्यस विषयमा कम्पनीको तर्फबाट समेत उनीहरू विरुद्ध प्रहरीमा जाहेरी दिएका छौं । अहिलेसम्म घटनामा तीन जनाको संलग्नता देखिएको छ ।”

पछिल्लो अध्यावधिक: असार ५, २०८० १३:३