close

अन्तरिक्ष यात्रीको ९८ प्रतिशत पिसाब र पसिना फिल्टर गरी खानेपानी बनाउँदै नासा

टेकपाना टेकपाना

असार ११, २०८० १६:४३

अन्तरिक्ष यात्रीको ९८ प्रतिशत पिसाब र पसिना फिल्टर गरी खानेपानी बनाउँदै नासा

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले अन्तरिक्ष यात्रीको पिसाब र पसिनालाई फिल्टर गरेर खानेपानी बनाउने प्रविधि तयार गरेको छ । यसले भविष्यमा हुने चन्द्र ग्रह वा अन्य ग्रहका लागि थालिने मिसनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । 

नासाले यही हप्ता इन्टरनेसनल स्टेसनको वातावरण नियन्त्रण तथा जीवन सहायता प्रणालीले अन्तरिक्ष यात्रीले यात्राबाट फर्किंदा ल्याएको ९८ प्रतिशत पिसाब र पसिनालाई पानीमा परिणत गर्ने कुरा खुलासा गरेको छ ।

यो प्रणालीले डिह्युमिडिफायर्स (dehumidifiers) प्रयोग गर्नेछ । डिह्युमिडिफायर्सले अन्तरिक्षयात्रीको पसिनाबाट आउने आद्रता (moisture) लाई संकलन गर्ने गर्नेछ । 

यो प्रणालीमा भएको अर्को प्रविधि भनेको 'युरिन प्रोसेसर एसेम्ब्ली' हो, जसले अन्तरिक्ष यात्रीले पिसाब गर्दा प्रयोग गर्ने भ्याकुम डिस्टिलेसनबाट उक्त पिसाब संकलन गर्नेछ । नासाले हालै तयार पारेको प्रविधिले भने पिसाबमा हुने पानीको मात्रा पत्ता लगाइ उक्त पिसाबलाई फिल्ट गरेर पानीमा रूपान्तरण गर्नेछ । 

नासाले हाल यो प्रविधिको परीक्षण गरिरहेको छ । यो प्रविधिले ९८ प्रतिशतसम्म पानी निकाल्ने नासाको दाबी छ ।

यसअघि नासाले अन्तरिक्ष यात्रीको पिसाबबाट ९३ देखि ९४ प्रतिशतसम्म मात्र पानी निकाल्न सफल भएको थियो । यो एउटा ठूलो उपलब्धि भएको र यसरी निकालिएको पानी स्वच्छ र सफा हुने पनि नासाको दाबी छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० १६:४३