close

सम्झनामा अन्तरिक्षबाट पृथ्वीको फोटो खिच्ने प्रविधि ल्यान्डस्याट आविष्कारक भर्जिनिया नोरवुड

टेकपाना टेकपाना

बैशाख ४, २०८० १९:१३

सम्झनामा अन्तरिक्षबाट पृथ्वीको फोटो खिच्ने प्रविधि ल्यान्डस्याट आविष्कारक भर्जिनिया नोरवुड

काठमाडौं । के तपाईंले भर्जिनिया नोरउडको नाम सुन्नु भएको छ ? त्यस्ता केही व्यक्ति मात्र छन्, जसले नोरउडलाई चिन्छन् । यदि तपाईंले पनि उनको बारेमा सुन्नु भएको छैन भने यो सामग्री तपाईंकै लागि हो । 

नोरउड एरोस्पेस (हवाई क्षेत्र) को दुनियाँकी त्यस्ती महिला हुन्, जसले पृथ्वीको सतहको निगरानी गर्ने ल्यान्डस्याट स्याटलाइट प्रोग्रामिङ आविष्कार गरेकी थिइन् । द न्युयोर्क टाइम्सका अनुसार नोरउडको गएको २७ मार्चका दिन ९६ वर्षको उमेरमा निधन भयो । 

पुरुषको आधिपत्य रहेको क्षेत्रमा धेरै संघर्ष गरेर उनले यो सफलता हासिल गरेकी थिइन् । मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक गरेकी नोरउडलाई उनको प्रतिभाका बावजुद पनि धेरै रोजगारदाताले एक महिला भएकै नाताले उनलाई रोजगार दिएका थिएनन् । द न्यु योर्क टाइम्समा उल्लेख भए अनुसार एक पटक सिकोर्स्की एयरक्राफ्टले उनलाई मागेको जति तलब कहिल्यै नदिने बताएको थियो, जुन एक निजामती सेवामा रहेको सबैभन्दा तल्लो पदका कर्मचारीको तलब बराबर थियो । 

त्यस्तै अर्को एक फूड ल्याबमा उनले जागिरका लागि आवेदन दिएकी थिइन्, जसले उनलाई जागिरको शर्तको रूपमा गर्भवती नहुने वाचा गर्न लगाएको थियो । त्यसपछि उनले आफ्नो आवेदन फिर्ता लिएकी थिइन् । एकपटक बन्दुक निर्माता कम्पनी रेमिङ्टनले जागिरको लागि बोलाइएको अन्तर्वार्तामा उनको विचारको प्रशंसा गरेको थियो । तर कम्पनीले उनको साटो एक पुरुषलाई नै काममा राख्ने निर्णय गर्‍यो । 

यसरी आफ्नो जीवनका अनेकौं उतारचढावपछि उनको भविष्यले तब गति लियो, जब उनले अमेरिकी सेनाको सिग्नल कोर्प्स ल्याबोरेटोरिजमा काम गर्न सुरु गरिन् । त्यहाँ उनले वेदर बेलुन (मौसम पूर्वानुमान र अनुसन्धान गर्ने कार्यमा प्रयोग हुने प्रविधि) का लागि राडार रिफ्लेक्टर डिजाइन गरेकी थिइन् ।  

त्यसपछि उनले सिल्भेनिया इलेक्ट्रोनिक डिफेन्स ल्याब्समा काम गरिन्, जहाँ उनले कम्पनीको पहिलो एन्टेना प्रयोगशाला स्थापना गरेकी थिइन् । यसपछि उनको करियरले नयाँ उचाइ लिंदै गयो । नोरवुडले सन् १९५० मा हग्स एयरक्राफ्ट कम्पनी (Hughes Aircraft Company) मा महिलाहरूको एउटा सानो समूहमा काम गरेकी थिइन् । त्यहाँ काम गर्दा उनलाई सबै प्रकारका समस्याको समाधान भएकी व्यक्तिको रूपमा चिनिन्थ्यो । 

सन् १९६० को दशकको उत्तरार्धमा जियोलोजिकल सर्भेका निर्देशक भूमि स्रोतको व्यवस्थापन गर्न अन्तरिक्षबाट पृथ्वीको फोटो खिच्न चाहन्थे । यसका लागि उनले नासासँग सहकार्य गरेका थिए । यो मौका भने हग्सको स्पेस एन्ड कम्युनिकेसन डिभिजनमा काम गरिरहेकी नोरउडको लागि जीवन कायापलट गर्ने अवसर थियो । 

यो कामको लागि उनले प्रकाश र ऊर्जाको स्पेक्ट्रा रेकर्ड गर्ने स्क्यानर विकास गर्न कृषि, मौसम विज्ञान र भूविज्ञान विशेषज्ञहरूबाट प्रतिक्रिया सङ्कलन गर्न सुरु गरिन् । उनले कृषि क्षेत्रको अवलोकन गर्नको लागि प्रयोग भएको प्रविधिको डिजाइनलाई लिएर जियोलोजिकल सर्भे र नासाको लक्ष्य पूरा गर्ने प्रविधि तयार गरिन् । 

यद्यपि उनको संघर्ष त्यतिमै सकिएन । उनले आफ्नो मल्टिस्पेक्ट्रल स्क्यानर प्रणाली (MSS) प्रक्षेपण हुने अन्तरिक्षयानमा पठाउन धेरै अवरोधहरूको सामना गर्नुपर्‍यो । यसमा पहिले नै टेलिभिजन ट्युब प्रविधि प्रयोग गरेर तयार गरिएको तीन-क्यामेरा प्रणाली राखिएको थियो, जसलाई एजेन्सीहरूले प्राथमिक इमेजिङ स्रोतको रूपमा हेरेका थिए । 

उक्त यानमा आफ्नो एमएसएस प्रविधि राख्नका लागि उक्त डिभाइसको साइज घटाउने निर्देशन आयो । आरसीए सिस्टमले पहिले नै अन्तरिक्ष यानको करिब १८१४ किलोग्राम स्थान ओगटिसकेको हुनाले उनको उत्पादन एमएसएस प्रविधिको तौल ४५ किलोग्राममा झार्नुपर्ने थियो । यद्यपि यसले उनलाई रोकेन र उनले आफ्नो उपकरणको आकार घटाएर अन्तरिक्षयानमा पठाइन् । उक्त यानमा उनको उपकरण दोस्रो मापनयन्त्रको रुपमा राखिएको थियो । 

सन् १९७२ मा अन्तरिक्षयानको प्रक्षेपण भयो । यान प्रक्षेपण भएको दुई दिनपछि नै एमएसएसले पहिलो तस्वीर खिच्यो । यसले खिचेको पहिलो तस्वीर ओक्लाहोमाको ओउचिटा हिमालको थियो । यो परिणामले सबैलाई चकित तुल्यायो । किनभने यो कसैको आशाभन्दा परको कुरा थियो । 

आरसीएको तुलनामा नोरवुडको प्रणालीले राम्रो काम गर्‍यो । 

यसको केही समय पनि नबित्दै उनले तयार गरेको यो ल्यान्डस्याट पृथ्वीको सतहको सर्वेक्षण गर्ने वास्तविक विधि बन्यो । त्यसपछि नोरवुडले ल्यान्डस्याटको २, ३, ४ र ५ को पनि विकास गर्ने नेतृत्व लिइन् । यसरी उक्त प्रणालीमा झन् झन् सुधार हुँदै गयो । आजको नयाँ संस्करणको ल्यान्डस्याट ८ र ९ उनकै अवधारणामा आधारित छन्, जसले जलवायु परिवर्तनको प्रभाव अनुगमन गर्न सहयोग गरिरहेका छन् । 

योसँगै उनले हग्स एयरक्राफ्टको क्षेप्यास्त्र प्रयोगशालामा माइक्रोवेभ समूहको नेतृत्व गर्ने र नासाको सर्भेयर चन्द्रमा ल्यान्डरको लागि भू-नियन्त्रण सञ्चार उपकरणहरू डिजाइन गर्ने लगायतका कामहरू पनि गरिन् । 

उनका साथीहरूले उनलाई "ल्यान्डस्याटको आमा" भन्ने उपनाम दिएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १९:१३