काठमाडौं । झापाको काकडभिट्टामा जन्मे हुर्केका प्रकाश श्रेष्ठ (पीएचडी) अहिले आफ्नो सपनाको संसारमा छन् । उनी नासाका वैज्ञानिक हुन् ।
सन् २०१८ मा इन्टर्नको रूपमा नासा छिरेका उनी अहिले लिड साइन्टिस्टको भूमिकामा छन् । क्यालिफोर्नियामा रहेको नासा एम्स रिसर्च सेन्टर उनको कार्यालय हो । त्यहाँ उनले विद्यावारिधि गरिरहेका पाँच जना इन्टर्नको नेतृत्व समेत गर्नु पर्ने हुन्छ ।
यो यात्रा पूरा गर्न उनलाई सजिलो पक्कै थिएन । स्नातकोत्तर तहसम्म ठ्याक्कै यही क्षेत्रमा विशिष्टीकृत ज्ञान हासिल गर्छु भन्नेमा उनी अन्योलमा नै थिए । अहिले उनको दक्षता हाइपरसोनिक र एरोडाइनामिक्ससँग सम्बन्धित छ ।
हाइपरसोनिकले ध्वनिको गति भन्दा पाँच गुणा वा सोभन्दा पनि बढी गतिलाई जनाउँछ । यसमा मिसाइल, वायुमण्डलमा प्रवेश गर्दाको यान आदि पर्छन् । त्यस्तै एरोडाइनामिक्स भनेको हावाको गतिको अध्ययन हो । यसले ठोस वस्तुहरू जस्तै विमानको पखेटा, कारले हावाको गतिसँग कसरी अन्तरक्रिया गर्छन् भनेर अध्ययन गर्छ ।
श्रेष्ठले आफ्नो विद्यावारिधि पनि यसैमा गरेका छन् । मिनेसोटा विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङ र मेकानिक्समा उनले विद्यावारिधि गरेका हुन् । नासा एम्स रिसर्च सेन्टरमा उनले पूर्णकालीन भएर काम गर्न थालेको साढे तीन वर्ष भइसकेको छ । त्यसअघि उनले नासाकै अन्य ल्याबमा ग्र्याजुएट रिसर्च फेलो र इन्टर्नका रूपमा काम गरेका थिए ।
विशेषत: उनको काम अनुसन्धानमूलक हुन्छ । अनुसन्धान बाहेक विभिन्न परियोजना हात पारेर आफ्नो समूहलाई आर्थिक पाटोमा सुधार गर्न अन्य सरोकारवाला पक्षहरूसँग पनि नियमित संवादमा रहिरन्छन् उनी । अहिले ठ्याक्कै उनले आफ्ना अनुसन्धान परियोजनाहरू गोपनीयताका कारण खुलाउन सकेनन् । तर उनको अनुसन्धान एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्ससम्म तानिएको छ ।
काकडभिट्टाबाट काठमाडौं
श्रेष्ठले आफ्नो बाल्यकाल काकडभिट्टाको जन्मथलो मै बिताए । क्रमशः त्यहीँका दुई ओटा स्थानीय विद्यालयहरूबाट स्कुले शिक्षा पार गरे । विद्यालय जीवनलाई नियाल्दा उनी आफूलाई औसत विद्यार्थी मान्छन् । तर आफ्नी दिदी पढाइमा अब्बल भएकीले उनलाई पनि पढाइमा राम्रो गर्नु पर्छ भन्ने भान र दबाब दुवै थियो । प्रकारान्तरमा उनी जान्ने र राम्रो गर्ने विद्यार्थीमा कहलिन पुगे । र, सन् २००५ मा साविकको फलामे ढोका अर्थात् एसएलसी उत्तीर्ण गरे ।
त्यतिबेला दश कक्षापछि धेरैको रोजाइ काठमाडौं हुन्थ्यो । उनको पनि त्यही थियो । घरतिर हुँदा नै उनले रेडिओमा ब्रिज कोर्सबारे सुनेका थिए । ११ कक्षा भर्ना हुनुअघि सम्बन्धित विषयको प्रवेश परीक्षा गराउने यो एक प्रकारको छोटो अवधिको कक्षा हो ।
काठमाडौंमा कहाँ पढ्ने, उनी अनभिज्ञ थिए । सेन्ट जेभियर्स, बुढानीलकण्ठ, एसओएस जस्ता कलेजहरू विद्यार्थीहरूका मुखाग्र थिए । उनी भने कलेज छान्नेभन्दा पनि ब्रिज कोर्सतिर तानिए ।
त्यस कक्षामा उनको प्रदर्शन निकै राम्रो भयो । त्यहीँका शिक्षकहरूले उनलाई सेन्ट जेभियर्समा भर्ना लिन सुझाए । किनकि स्नातक तहको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउनेमा त्यहीँका विद्यार्थी हुने गर्दथे । नभन्दै उनले कलेजको प्रवेश परीक्षा दिए । अनि त्यहाँ आईएससी (विज्ञान) पढ्न थाले ।
प्लस टू सकियो । उनले इन्जिनियरिङको तयारी थाले । रोबोट-प्लेन उनको रुचिमा पर्थे । तिनीहरू सुषुप्त रूपमा उनको मनमा गढिएको थिए । त्यस बेलासम्म नेपालमा एरोस्पेस इन्जिनियरिङको पढाइ सुरु भइसकेको थिएन । मुख्यतः सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, इन्डस्ट्रियल इन्जिनियरिङ मूलधारमा थिए ।
ती मध्ये उनको रुचि मिल्ने विषय मेकानिकल बन्यो । उनलाई पनि मेकानिकल इन्जिनियरिङ ‘फादर अफ इन्जिनियरिङ’ भन्ने लाग्थ्यो । अनि पूर्ण शुल्कियतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भए । तर प्रत्येक सेमेस्टरमा टपर हुनाले उनले शुल्क तिर्नु परेन । उनी आफ्नो ब्याचका गोल्ड मेडलिस्ट पनि हुन् ।
अहिले सम्झँदा त्यस समयमा आफूले पढेको पाठ्यक्रम अझ राम्रो हुन सक्ने उनको मूल्याङ्कन छ । त्यसताका पाठ्यक्रम अलि पुरानो भएको र नयाँ ज्ञान समेट्न नसकेको उनी बताउँछन् । भलै विषयबारे आधारभूत ज्ञान तथा सीप भने अवश्य दिएको थियो ।
स्नातक तह सकिएपछि उनले नेपालमा नै होन्डा आरएन्डडीमा रिसर्च इन्जिनियरको भूमिकामा करिब डेढ वर्ष काम गरे । त्यहाँ एरोडाइनामिक्सकै क्षेत्रमा काम गरे पनि वस्तु भने कार थियो ।
त्यति बेला एरोडाइनामिक्सको क्षेत्रमा नेपालमा त्यति अवसर पनि थिएन । स्नातक तहमा मात्र नभएर त्यसपछि पनि एरोस्पेस इन्जिनियरिङको पढाइ हुँदैन थ्यो, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत देशमा पढाइ हुन्थ्यो । तर उनले अमेरिका नै रोजे । किनकि त्यहाँ स्वत: बढी अवसर पाइने निश्चित थियो ।
काठमाडौंबाट अमेरिकाको यात्रा
यसरी श्रेष्ठ अध्ययनको सिलसिलामा अगस्ट २०१२ मा अमेरिका छिरे । त्यहाँ उनले पर्ड्यु विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङमा स्नातकोत्तर सके । त्यही विश्वविद्यालयमा उनको भविष्यले पनि मूर्त रूप लियो ।
विश्वविद्यालयमा विमानको इन्जिनमा आगो बल्ने प्रणालीदेखि त्यसबाट निस्कने प्रदूषणसम्मका विषयमा उनले अध्ययन गरे । त्यहाँ अवसरका अन्य दायरा (विकल्प) पनि थिए । ती मध्ये अब कता जाउँ भन्नेमा उनी अन्योलमा परे । त्यसै बिच उनले एउटा अडिओ क्लास लिए, प्राध्यापक स्टीवन स्नाइडरको । स्नाइडर हाइपरसोनिकका खुङ्खार प्राध्यापक हुन् । त्यसपछि उनको रुचि पूर्ण रूपमा हाइपरसोनिक तिर मोडियो ।
त्यो एउटा अडिओ बुक जस्तो थियो । तर प्राध्यापक स्नाइडरले पढाएको सुनेर उनी यति मोहित र लालायित भए कि, उनलाई कस्तूरीले नाभीको सुगन्ध भेटे जस्तै लाग्यो । तर त्यो विषय अनिवार्य थिएन । अहिले त्यो विषयको भौतिक कक्षा नलिएकोमा उनी थकथकी मान्छन् । शिक्षकको पढाउने शैली, त्यसमा भएको पाठ्यक्रमले गर्दा आफू त्यतातिर गएको उनको भनाइ छ । खैर, उनले सुगन्धित अत्तर भेटिसकेका थिए ।
तर स्नाइडर एक्सपेरिमेन्टल (प्रयोगात्मक) धारका थिए भने श्रेष्ठ कम्प्युटेसनलका । तर पनि हाइपरसोनिकको कम्प्युटेसनल क्षेत्रमा जाने बाटो उनले चुने । लगत्तै विद्यावारिधिका लागि अमेरिकामा यो विषय पढाइ हुने उत्कृष्ट विश्वविद्यालयहरूमा आवेदन दिए । ती मध्ये उनको छनौटमा मिनेसोटा विश्वविद्यालय पर्यो । किनकि त्यहाँका प्राध्यापक हाइपरसोनिकको क्षेत्रमा ग्लोबल लिडर जस्तै थिए । उनले २०१८ मा आफ्नो विद्यावारिधि सके ।
नासाको पाइला
विद्यावारिधि गर्दै गर्दा उनी नासामा जोडिए । यसको प्रसङ्ग पनि रोचक छ । भर्जिनियामा नासा ल्याङ्ली रिसर्च सेन्टर छ । त्यहाँका अधिकृतलाई उनले ईमेलमार्फत परियोजनामा काम गर्न पाउँ भनेर प्रस्ताव पठाएका थिए ।
हाइपरसोनिक निकै संवेदनशील विषय हो । अमेरिकामा यस क्षेत्रमा काम गर्न अमेरिकी नागरिकता अथवा ग्रिन कार्ड हुनु अनिवार्य जस्तै छ । अधिकृतहरूले श्रेष्ठलाई यिनको अनिवार्यताबारे नभनेका होइनन् । तर सीप, क्षमता र दक्षता देखेर त्यहाँ उनलाई इन्टर्नमा नियुक्त दिइयो । नासामा त्यो नै उनको पहिलो काम थियो ।
त्यहाँ उनले करिब तीन महिना जति काम गरे । उनको विद्यावारिधि पनि सकिसकेको थियो । उनले नासामै काम गर्न कोसिस पनि गरेका थिए । तर सुरक्षाका कारणले पाएनन् । अनि विद्यावारिधि सकिसकेपछि अस्थायी रूपमा काम गर्न पाइने अवसरको सदुपयोग गर्दै उनी लस अलामोस नेसनल ल्याब्रेटोरीमा पोस्टडक्टरल फेलोको रूपमा जोडिए ।
तथापि नासामा काम गर्न सकिने अवसर भने उनले खोजी रहेकै थिए । विभिन्न स्रोत व्यक्तिसँग सम्पर्कमा थिए । अन्तत: क्यालिफोर्नियामा अवस्थित नासा एम्स रिसर्च सेन्टरमा हाइपरसोनिक सम्बन्धी काम गर्न उनले नियुक्ति पाए ।
वैज्ञानिकको दैनिकी
अमेरिकामै भए पनि अहिले उनी रिमोट्ली काम गरिरहेका छन् । उनको बसाईं टेक्ससको डलासमा छ । कार्यालय क्यालिफोर्नियामा । यी दुई सहरको टाइम जोन करिब दुई घण्टाले फरक छ ।
नियुक्तिका क्रममा काम गर्न कार्यालयमा नै उपस्थित हुनु पर्ने सर्त थियो । तर उनले नियुक्ति लिँदा कोभिड महामारी व्याप्त थियो । यही कारण अनलाइन माध्यममार्फत काम गर्नु परेको थियो । जुन आज पर्यन्त चली नै रहेको छ । अहिले भने यो बाध्यता नभएर श्रेष्ठको आग्रहमा नै कम्पनीले मिलाइदिएको सुविधा हो ।
यस अर्थमा अहिले उनको घर नै अफिस हो, अफिस नै घर हो । अनुसन्धानको काम कम्प्युटरमा आधारित हुने भएकाले उनी चार/पाँच महिनाको अवधिमा केही पटक मात्र कार्यालय जान्छन् । त्यसमाथि उनी नेतृत्व तहमा पनि त छन् । त्यसले पनि उनको रिमोट वर्कलाई साथ दिएको छ ।
अरू बेला बिहान ६ बजेतिर उठ्ने, व्यायाम गर्ने, खाना पकाउने, खाने जस्ता बिहानको दैनिकी दोहोरिरहन्छन् । घरमा बसे पनि उनी आफ्नो काम ९ बजेदेखि सुरु गर्छन् । सबैभन्दा सुरुमा दिनभर केके गर्ने भनेर योजना बनाउँछन् । भएका योजना हेर्छन् । प्रभावकारी तरिकाले काम गर्न यसो गर्ने गरेको उनी बताउँछन् ।
त्यसपछि साँझ ५ बजेसम्म काम गर्छन् । दिनमा आफ्ना सहकर्मी, इन्टर्न, माथिल्लो तहका कर्मचारीसँग कुराकानी गर्ने, भावी योजना बनाउने, परियोजना ल्याउन प्रस्ताव पत्र पठाउने, परियोजनामा फलोअप गर्ने, परियोजना सफल बनाउन काम गर्ने जस्ता गतिविधि हुने भए ।
आफूले कार्यालयमा नगएर घरबाटै काम गर्दा फाइदा बेफाइदा दुवै भएको उनी बताउँछन् । यसरी काम गर्नुको मुख्य फाइदा ‘लचकता’ भएको उनको भनाइ छ । यसले घर-कार्यालय-घरको यात्राको समय र पैसा दुवै बचाउने उनी सुनाउँछन् ।
तर रिमोट वर्कले आत्मीयतामा कमी ल्याउने उनको अनुभव छ । मान्छे सामाजिक प्राणी भएकाले रिमोट वर्कको यो सबैभन्दा नकारात्मक पाटो भएको उनी बताउँछन् ।
नासाको काम
मुख्यत: उनीहरू दुई तरिकाले काम गर्छन् । प्रयोगात्मक - जहाँ वास्तविक ‘विन्ड टनेल’ बनाएर त्यसमा प्लेन राखिन्छ । र हावाले पार्ने प्रभावबारे अध्ययन गरिन्छ । सिमुलेसन - अब सोही काम कम्प्युटरमा प्रोग्रामिङ गरेर गरिन्छ ।
यसरी फरक विधिबाट आउने डेटाहरू तालमेल भए/नभएको जाँच हुन्छ । मिले ठिक, नमिले पुन: अनुसन्धानको काम हुन्छ ।
यो एउटा उदाहरण हो । श्रेष्ठले गर्ने काम मूलत: यस्तै प्रकृतिका हुन्छन् । आफूले गर्ने कतिपय अनुसन्धान गोपनीयताका कारण खुलाउन नमिल्ने उनी बताउँछन् ।
आफूले गरेको एक अनुसन्धानको बारेमा उनी सुनाउँछन्, “वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्ष यानलाई बचाउनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो । नासाको स्पेस शटल (पुन: प्रयोग गर्न सकिने अन्तरिक्ष यान), एलन मस्कको स्टारशिपमा यानको बाहिरी भाग प्राय: कालो हुन्छ । ती टायलहरू हुन् । जसलाई थर्मल टायर भनिन्छ । यिनको काम उच्च तापक्रमबाट यानलाई सुरक्षित गर्नु हो । अब सुरुमा नै यानलाई अन्तरिक्षमा पठाएर परीक्षण गर्न सम्भव छैन । यसो हुँदा केही मोडलको ग्राउन्ड टेस्टिङ हुन्छ भने केहीको कम्प्युटर सिमुलेसन । केही समय अघिसम्म स्पेसएक्सको रकेट पृथ्वीमा ल्यान्डिङ गर्दा पड्किरहन्थ्यो । हाम्रो समूहको अनुसन्धानले रकेटमा टायलको भाग थप्न सुझाएको थियो”
नेपालमा एरोस्पेस इन्जिनियरिङ
अहिले उनी पढेको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यस विषय पनि पढाइ हुन थालेको छ । यस अर्थमा नेपालमा पनि यस विषयको भविष्य विस्तार भइरहेको उनी बताउँछन् । तर अवसर सीमित भएको उनको बुझाइ छ ।
यद्यपि यो विषय अन्य इन्जिनियरिङसँग अन्तरआबद्ध हुने भएकाले अवसरको दायरा फराकिलो भएको उनी सुनाउँछन् । वायु ऊर्जा, जल विद्युत्को टर्बाइन डिजाइन, एयर ट्राफिक म्यानेजमेन्ट, मौसम पूर्वानुमान, म्यापिङ, जीपीएस प्रणाली, टेलिकम्युनिकेसन जस्ता क्षेत्रमा राम्रो अवसर भएको उनी बताउँछन् ।
नेपालले यस्ता अवसर सिर्जना गर्न नसके पनि अन्य देशका लागि नेपालबाटै काम गर्न सकिने उनको बुझाई छ । तर अहिले लगानी र जनशक्तिको अभाव चुनौतीको विषय भएको उनको तर्क छ । यस्तोमा नेपालले परियोजनाहरू प्राथमिकीकरण गरेर काम गर्न सक्ने र जनशक्ति उत्पादनमा ध्यान दिनु पर्ने श्रेष्ठको सुझाव छ ।
अन्तरिक्षको क्षेत्रमा नेपाली वैज्ञानिकहरूको योगदान स्मरण गराउँदै नेपालीहरूले पनि धेरै गर्न सक्छन् । विश्वभर जहाँसुकै भएता पनि नेपाली एरोस्पेस इन्जिनियरको सङ्ख्या बढ्नु देशका लागि सकारात्मक सूचक नै हो ।
ती जनशक्तिले गरिरहेको कामको प्रत्यक्ष प्रभाव नेपालमा नपर्नु भने दु:खद भएको उनी सुनाउँछन् । यस्तोमा देशका नाममा यस क्षेत्रमा भएको कामलाई कम आँक्न नहुने उनको धारणा छ ।
उनी आफैं तत्काल देश फिर्ता हुने पक्षमा भने छैनन् । आफूसँग अझै ज्ञानको कमी भएको बोध उनमा छ । धेरै कुरा गरिसके पनि धेरै गर्न बाँकी नै छ भन्ने मनन छ । त्यसमाथि देशको राजनीतिक परिस्थिति, नीति कानून जस्ता कुराहरूले फर्किने सोच उनले बनाउन नसकेका हुन् । अहिले नासामै काम गरेर आफ्नो ज्ञान, सीप बढाउने र 'भविष्य'बारे भविष्यमा नै सोच्ने उनको भनाई छ।