close

एन्ड्रोइडको नयाँ लोगो तपाईँलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

असार १३, २०८० १९:३४

एन्ड्रोइडको नयाँ लोगो तपाईँलाई कस्तो लाग्यो ?

काठमाडौं । गुगलले आफ्नो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडलाई बारम्बार नयाँ-नयाँ स्वरूपमा ल्याइरहेको हुन्छ । त्यसैले एन्ड्रोइड प्रयोगकर्तालाई गुगलले एन्ड्रोइडमा ल्याउने परिवर्तन खासै नयाँ कुरा होइन ।

पछिल्लो पटक गुगलले सन् २०१९ मा एन्ड्रोइडको नयाँ ब्रान्ड आइडेन्टिटी घोषणा गरेको थियो । त्यसको करिब चार वर्षपछि कम्पनीले एन्ड्रोइडको लोगो पुनः परिमार्जन गर्ने भएको छ ।

सन् २००८ देखि २०१४ सम्म एन्ड्रोइडको लोगोमा रोबोटको आइकन र स्टाइलिश अक्षरमा एन्ड्रोइड लेखेर लोगो डिजाइन गरिएको थियो ।

 

(बायाँ: २००८ | बीच: २०१९ | दाँया: २०१४) 

पछि २०१४ मा कम्पनीले एन्ड्रोइडको लोगो पुनः परिमार्जन गर्‍यो, जसमा टोभ जानसनले डिजाइन गरेको कोमिक स्ट्राइप्स फन्टमा एन्ड्रोइड अक्षर डिजाइन गरिएको थियो । तर, रोबोटको आइकन भने उस्तै थियो । 

त्यसपछि सन् २०१९ मा कम्पनीले तेस्रो पटक एन्ड्रोइडको लोगो परिवर्तन गर्‍यो । जसमा रोबोटको टाउको मात्र राखिएको थियो । तर, फन्ट भने पहिलेको जस्तै राखियो । अहिले पनि प्रायः सबै एन्ड्रोइड डिभाइसमा त्यही लोगो देख्न पाइन्छ ।

तर, अब भने कम्पनीले त्यही रोबोटको टाउकोलाई थ्रीडी डिजाइनका साथ नयाँ स्वरूप दिने भएको छ । त्यस्तै सोही लोगोमा श्याडो र लाइट रिफ्ल्याक्सन समेत राख्ने बताइएको छ । 

टाइपोग्राफीमा समेत कम्पनीले परिवर्तन गर्ने बताइएको छ । एन्ड्रोइड सुरु भएदेखि प्रायः अक्षर स्मल लेटरमा राखिएको छ । नयाँ लोगोमा भने कम्पनीले सुरुको अक्षर ‘ए’ (A) क्यापिटल राख्ने र बाँकी भने स्मल लेटरमा राख्ने बताइएको छ ।

अरू अक्षर उस्तै देखिए पनि अगाडिको ‘ए’ भने क्यापिटल अक्षर हुनेछ । सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा र फ्लिप फोरको गुगल एप र एन्ड्रोइडमा नयाँ लोगो देखिएको नाइन टु फाइभ गुगलले उल्लेख गरेको छ ।  

पछिल्लो अध्यावधिक: असार १४, २०८० १२:२९