close

के तपाईँलाई थाहा छ, एप्पलले प्रयोग गर्छ नोकियाको पेटेन्ट !

टेकपाना टेकपाना

असार १६, २०८० १९:२६

के तपाईँलाई थाहा छ, एप्पलले प्रयोग गर्छ नोकियाको पेटेन्ट !

 

काठमाडौं । प्रविधिको बजारमा एप्पल आफैंमा एक प्रतिष्ठित कम्पनी हो । एप्पलको नाममा कयौं पेटेन्ट दर्ता छन् । स्मार्टफोनको बजारमा पनि एप्पलले अन्य कम्पनीलाई उछिन्दै आएको छ ।

यता नोकिया भन्ने बित्तिकै सबैले सकिन लागेको कम्पनीको रूपमा बुझ्छन् । कुनै समयको मोबाइल बजारको राजाको नोकिया अहिले बजारमा नभए बराबर छ । यद्यपि यसको प्रविधि अझै पनि बजारमा चलिरहेकाे छ ।

बजारमा दुई फरक स्थानमा रहेका एप्पल र नाेकियाले ६ वर्षदेखि सहकार्य गरिरहेका छन् भन्दा विश्वास नलाग्न सक्छ । तर याे सत्य हो ।  

एप्पलले नोकियाको विभिन्न प्रविधिको पेटेन्ट प्रयोग गर्दै आएको छ । एक विज्ञप्ति जारी गर्दै नोकियाले आफ्ना प्रविधिहरूको पेटेन्ट प्रयोग गर्न एप्पललाई अनुमति दिएको खुलासा गरेको हो । 

यी दुई कम्पनीले यसअघि सन् २०१७ मा यस्तै एउटा सम्झौता गरेका थिए, जसको अवधि २०२३ मा सकिँदैछ । पुरानो सम्झौतापत्रको समयावधि सकिनै लाग्दा सो सम्झौतालाई नवीकरण गर्दै दुई कम्पनीले पुन: सम्झौतालाई निरन्तरता दिएका हुन् ।

सम्झौतामा के के छन् विषयमा नोकियाले नखुलाए पनि नोकियाको विभिन्न प्रविधिको पेटेन्ट प्रयोग गरे वापत एप्पलले नोकियालाई शुल्क तिर्न बताइएको छ ।

पछिल्लो समय बजारमा नोकियाको त्यति आकर्षण नभए पनि कम्पनीका केही यस्ता प्रविधिहरू छन्, जुन आजको दिनमा पनि निकै नै महत्त्वपूर्ण छ ।

आजको दिनमा पनि अन्य स्मार्टफोनको तुलनामा नोकियाले प्रयोग गर्ने प्रविधि भिन्न प्रकारको छ । नोकियालाई टिकाउ ब्रान्डको रुपमा चिनिने गरिन्छ ।

नोकियाको नाममा मात्रै हालसम्म २० हजार पेटेन्ट दर्ता छन् । सोमध्ये पाँच हजार ५०० पेटेन्ट फाइभजी टेक्नोलोजीसँग सम्बन्धित छ । नोकियाले एप्पल मात्र नभई अन्य कम्पनीहरुलाई पनि आफ्नो पेटेन्ट प्रयोग गर्न दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० १९:२६