काठमाडौं । यदि तपाईँको नाडीमा ट्याटु छ र स्मार्टवाच प्रयोग गर्नुहुन्छ भने सो वाचले राम्रोसँग काम नगरेको महसुस गर्नुभएको होला । प्राय: ट्याटु भएको नाडीमा स्मार्टवाचको सेन्सरले राम्रोसँग काम गरिरहेको हुँदैन ।
प्रयाेगकर्ताबाट धेरै गुनासो आउन थालेपछि सामसङले यो समस्याको समाधानका लागि काम गर्न थालेकाे छ । हुन त यो समस्या सामसङको ग्यालेक्सी वाचमा मात्र होइन, एप्पल वाच लगायत अन्य स्मार्टवाचमा पनि यस्तो समस्या छ ।
ट्याटुका कारण स्मार्टवाचको सेन्सरले मानिसको बायोमेट्रिक डेटा राम्रोसँग रिड गर्न सक्दैन । यसले गर्दा स्मार्टवाचले राम्रोसँग काम गर्दैन ।
यही समस्यालाई सामसङले समाधान गर्न लागेको हो । कम्पनीले यस विषयमा काम गरिरहेको र अबको नयाँ अपडेटसँगै यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
वन यूआई फाइभ वाचसँगै यो समस्या समाधान हुने बताइएको छ । हाल यसको बेटा भर्सन उपलब्ध छ ।