close

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा जोडिएको अडियो जेलमा भएका कैदीसँग मेल खाएपछि

टेकपाना टेकपाना

असार २४, २०८० १४:१६

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा जोडिएको अडियो जेलमा भएका कैदीसँग मेल खाएपछि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवाको नाम जोडिएको आवाज हाल जेलमा रहेका कैदी सन्देश शर्मासँग मिलेको पाइएको छ । 

जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा सङ्गठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुर उपमहानगरपालिका १६ दाङका ३४ वर्षीय सन्देश शर्मासँग उनको आवाज मिलेको प्रहरीले जनाएको हो ।

नेपाल प्रहरीले आइतबार एक जानकारी पत्र प्रकाशित गर्दै पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी डा. राणाको नाम जोडिएको आवाज ती युवकसँग मेल खाएको जानकारी दिएको छ ।

"डा. आरजु राणा देउवाबाट प्राप्त निवेदनका हकमा परीक्षण गर्दा स्पिकर आइडेन्टिफिकेसन ट्रेट्स म्याच (Speakers Identification Traits match) भनी उल्लेख भएको उक्त स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा सङ्गठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगरपालिका-१६ दाङ घर भएका वर्ष ३४ का सन्देश शर्माको कन्ट्रोल स्याम्पल (Control Sample) सँग मेल खाएको देखिएको छ," जानकारी पत्रमा लेखिएको छ । 

“कहाँ र कसबाट ओरिजिनेट (Originate) भएको भन्ने सम्बन्धमा टिकटक सिङ्गापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन सकेको छैन,” पत्रमा उल्लेख छ । 

वैशाख २७ गते डा. राणाले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो भोटाहिटीमा सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा आवश्यक अनुसन्धान गरिदिन निवेदन दिएकी थिइन् ।

निवेदन दिएको करिब साढे दुई महिनापछि प्रहरीले सो आवाज शर्मासँग मिलेको निष्कर्ष निकालेको हो ।

"निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा सङ्गठित अपराध कसुर मुद्दा चली जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने बेहोरा जानकारी गराइएको छ," जानकारी पत्रमा लेखिएको छ ।

सम्बन्धित: 

आरजूको प्रश्नः मेरो नाम जोडिएको अडियोको सत्यतथ्य जाँच अहिलेसम्म किन भएन ?

फेक अडियो बनाएको भन्दै आरजू राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

शरणार्थी ठगीमा आरजू र मञ्जु जोडिएको अडियो लिक गर्ने अनलाइनमाथि प्रतिबन्ध

नक्कली भुटानी शरणार्थी प्रकरणः यस्तो छ आरजू र बालकृष्ण खाँड 'जोडिएको' अडियो

पछिल्लो अध्यावधिक: असार २४, २०८० १९:२०