close

सीता दाहालको निधनमा दिएको अभिव्यक्तिले तोसिमा कार्की विवादमा, भन्छिन्- बाइट तोडमोड गरियो

टेकपाना टेकपाना

असार २७, २०८० २३:५२

सीता दाहालको निधनमा दिएको अभिव्यक्तिले तोसिमा कार्की विवादमा, भन्छिन्- बाइट तोडमोड गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं सांसद डा. तोसिमा कार्की आफ्नै अभिव्यक्तिका कारण विवादमा मुछिएकी छन् । प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले केही मिडियासँग अन्तर्वार्ता दिने क्रममा व्यक्त गरेको अभिव्यक्तिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

अन्तर्वार्ताको एक क्लिप अहिले भाइरल भइरहेको छ, जहाँ उनले भनेकी छन्, ''प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन । आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नुहोला त भन्ने प्रश्न पनि आउन सक्छ ।''

सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले बाइटलाई तोडमोड गरी राखिएको गुनासो गर्दै पूरा भिडिओ हेर्न अनुरोध गरेकी छन् ।

''म स्वयंले पेरिसडाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरीरमा फूल र श्रद्धा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु । साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु,'' उनले फेसबुक पाेस्टमा लेखेकी छन् ।

पछिल्लो अध्यावधिक: असार २७, २०८० ०:१३