close

फेसबुकमा प्रधानमन्त्रीबारे असंवेदनशील पोस्ट राख्ने ‘टाइगर राना मगर’ पक्राउ

टेकपाना टेकपाना

साउन १, २०८० १९:४

फेसबुकमा प्रधानमन्त्रीबारे असंवेदनशील पोस्ट राख्ने ‘टाइगर राना मगर’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनकी दिवङ्गत पत्नी स्व. सीता दाहालका बारेमा असंवेदनशील स्टाटस राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही घर भई सोही जिल्ला बुटवल बस्दै आएका ४९ वर्षीय शेरबहादुर राना उर्फ टाइगर बहादुर राना रहेका छन् ।

साइबर ब्यूरोका अनुसार आरोपित रानाले फेसबुकमा 'टाइगर राना मगर' नामको फेसबुक अकाउन्ट प्रयोग गर्दै आएका थिए । सोही अकाउन्टबाट प्रधानमन्त्री प्रचण्ड र उनकी दिवङ्गत पत्नी दाहालप्रति घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण राखेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो ।

"प्रधानमन्त्रीज्यू र उहाँकी दिवङ्गत पत्नीका बारेमा सामाजिक सञ्जालमा घृणा फैलाउने पोस्ट भएको भन्ने उजुरी परेको थियो" टेकपानासँग कुरा गर्दै ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले भने, "त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा राना पक्राउ परेका हुन् ।"

प्रहरीका अनुसार उनले "टाइगर राना मगर” भएको फेसबुक प्रोफाइल प्रयाेग गर्थे । सोही प्रोफाइलको टाइमलाइनमा प्रधानमन्त्रीको तस्वीरसमेत प्रयोग गरी प्रचलित कानूनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्दहरू प्रयोग गरी, प्रकाशन तथा प्रदर्शन गरेको देखिएको थियो ।

उजुरी आएपछि साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा रानालाई आइतबार पक्राउ गरेको हो । उनीमाथि अदालतबाट पाँच दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: साउन १, २०८० १९:१७