close

आफ्नै साथीलाई पालैपालो कुटपिट गरी सामाजिक सञ्जालमा भिडिओ राख्ने तीन युवती पक्राउ

टेकपाना टेकपाना

साउन ३, २०८० १४:४३

आफ्नै साथीलाई पालैपालो कुटपिट गरी सामाजिक सञ्जालमा भिडिओ राख्ने तीन युवती पक्राउ

काठमाडौं । सुनसरी बराहक्षेत्र वडा नं. ९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा आफ्नै साथीहरूलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने तीन जना युवती पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा पाँच जनामाथि जाहेरी परेको थियो, जसमध्ये हालसम्म तीन जना पक्राउ परिसकेका छन् भने दुई जना फरार छन् ।

सुनसरी बराहक्षेत्र वडा नं. १० प्रकाशपुर बस्ने १९ वर्षीय प्रीति लिम्बू घटना भएकै दिन सुनसरीकाे महेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । पक्राउ परेपछि उनीमाथि अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ ।

त्यसपछि मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमान्डको विशेष प्रहरी टोलीले इटहरी बजारबाट थप दुई जना आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र वडा नं. ८ बस्ने १८ वर्षीय दुर्गा राई र सोही ठाउँमा बस्ने २२ वर्षीय बिनिता उराँउ रहेका छन् । प्रहरीले उनीहरूलाई लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।

जिप्रका सुनसरीका अनुसार असार २९ गते पाँच जना युवतीले आफ्नै गाउँकी १९ वर्षीय मनिषा राईसहित तीन जनालाई चिहान डाँडाको कोशी किनारमा बोलाएका थिए । त्यसपछि तीनै जनालाई पालैपालो कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा राखे ।

सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पीडितहरूले असार ३१ गते इप्रका महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए ।

फरार रहेका बाँकी दुई युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८० १५:१