close

प्रेमिकाको नग्न भिडिओ पोर्न साइटमा राख्ने एक नेपाली मलेसियाबाट पक्राउ

टेकपाना टेकपाना

साउन १६, २०८० १६:३८

प्रेमिकाको नग्न भिडिओ पोर्न साइटमा राख्ने एक नेपाली मलेसियाबाट पक्राउ

काठमाडौं । प्रेमिकाको नग्न भिडिओ पोर्न साइटमा राख्ने युवक इन्टरपोलको सहायताले मलेसियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई मलेसिया काम गर्दै आएका २७ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरीका अनुसार नेपाल हुँदा बिक युवतीसँग प्रेम सम्बन्धमा थिए । त्यहीबेला विभिन्न बहानामा नग्न हुन बाध्य बनाई भिडिओ रेकर्ड गरेका थिए ।

राेजगारीकाे सिलसिलामा मलेसिया गएपछि बिकले त्यही भिडिओ तथा फोटो फेसबुक अकाउन्ट बनाएर त्यसैमा अपलोड गर्न थाले । त्यति मात्र नभइ युवतीका आफन्तलाई भिडिओ पठाउन थाले । पीडित युवतीले दिक्क भएर आफ्नो फेसबुक अकाउन्ट डिएक्टिभेट गरिन् । तर पनि बिकले उनको नामका नक्कली अकाउन्ट बनाएर नग्न भिडिओ तथा फोटो अपलोड गर्न छोडेनन् ।

पछि युवकले आफ्नो भिडिओ पोर्न साइटमै राखिदिएपछि युवतीले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिइन् । त्यसपछि साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार नियन्त्रणमा लिएको हो ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको भन्दै साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएपछि बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो ।

बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८० १६:३८