close

पत्रकारविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा अभियन्ता गिरीमाथि पक्राउ पुर्जी

टेकपाना टेकपाना

साउन २३, २०८० २३:१

पत्रकारविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा अभियन्ता गिरीमाथि पक्राउ पुर्जी

काठमाडौं । सामाजिक सञ्जालमा पत्रकारबारे गरेको टिप्पणीको आधारमा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं फाेटाेग्राफर आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

पर्वतका पत्रकारहरूले आर्थिक अनियमितता गरेकाे भन्दै सामाजिक सञ्जालमा गिरीले स्टाटस लेखेपछि गणेश पाैडेल, छविलाल तिवारी, सन्ताेष थापा लगायत जिल्लाका पत्रकारले विद्युतीय अपराध विरुद्धकाे कसूरमा कारबाहीका लागि किटानी जाहेरी दिएका थिए ।

पत्रकार महासंघले देशभर चलाएको पत्रकार शुद्धीकरणका विषयमा अभियन्ता गिरीले सामाजिक सञ्जालमार्फत आलोचना गरेका थिए । गिरीले महालेखा परीक्षण कार्यालयले पर्वतका पत्रकारहरूको नाममा बेरुजु रकम ३५ लाख देखाउनु र राज्यबाट लोककल्याणकारी विज्ञापन वापतको रकम पत्रिकाले असुल्ने, तर पत्रिका बजारमा बिक्रीवितरण नै नगर्ने भन्दै स्टाटस लेखेका थिए ।

पर्वतका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले पत्रकार महासंघको लेटर प्याडमै गिरीविरुद्ध उजुरी परेपछि आफूहरुले पक्राउ पुर्जी जारी गरेको बताए । पत्रकारहरुले गिरीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम निजलाई कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गराएका थिए । 

कालीगण्डकी बचाउन र पत्रकारिताका नाममा गलत प्रवृत्तिको पनि संरक्षण गरिएको भन्दै आफूले व्यङ्ग्य गर्दा पक्राउ पुर्जी जारी भएको गिरीले बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन २४, २०८० ९:१७