close

सुरक्षित रूपमा रकम ट्रान्सफर गर्न ईसेवाको ‘ईस्क्रो फिचर’, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

साउन २४, २०८० १३:२२

सुरक्षित रूपमा रकम ट्रान्सफर गर्न ईसेवाको ‘ईस्क्रो फिचर’, कसरी गर्ने प्रयोग ?

काठमाडौं । डिजिटल वालेट कम्पनी ईसेवाले गत वर्ष ‘सेक्युअर्ड ट्रान्सफर’ फिचर सार्वजनिक गरेको थियो । उक्त फिचरलाई अहिले कम्पनीले ‘ईस्क्रो’ फिचरको नाम दिएको छ ।

ईस्क्रोले त्यस्तो वित्तीय सम्झौतालाई जनाउँछ, जहाँ कुनै तेस्रो पक्षले दुई ओटा पक्षबीच भइरहेको आर्थिक कारोबारमा त्यतिबेला मात्र रकम भुक्तानी गर्ने अनुमति दिई कारोबार सम्पन्न हुन्छ ।

यसमा तेस्रो पक्ष (बैंक वा डिजिटल वालेट) ले भुक्तानी गर्ने व्यक्तिको रकम रोक्का गरेर राख्छ । जतिबेला सेवा वा उत्पादन पाउनुपर्ने व्यक्तिले सेवा वा उत्पादन पाउँछ र दिने व्यक्तिले रकम पाउनुपर्ने हुन्छ, त्यतिबेला त्यही तेस्रो पक्षले रोक्का गरेको रकम भुक्तानी गर्छ ।

कसका लागि उपयुक्त छ ईस्क्रो फिचर ?

सामान्य कारोबारका लागि ईस्क्रो फिचर उपयोगी नहुन सक्छ । किनभने यसमा सेवाशुल्क वापत १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसबाहेक पनि रकम पठाइसकेपछि उक्त रकम पुनः रिलिज गर्नुपर्ने हुन्छ । तब मात्र पठाउन खोजिएको रकम जान्छ ।

केही अवस्थामा व्यवसायी वा व्यक्तिले सामान वा सेवा दिन्छु भनी सेवाग्राहीबाट रकम लिएका हुन्छन् । तर, पछि सेवा वा सामान नदिई ठगी गरिदिन सक्छन् ।

त्यस्तै कतिपय अवस्थामा ग्राहकले पनि सामान वा सेवा लिन्छु भनेका हुन्छन्, तर सामान पाइसकेपछि पैसा दिन वास्ता नगर्ने हुन सक्छन् । ईसेवाका अनुसार यस्तो अवस्थामा दुई पक्षबीच निर्धक्क कारोबार गर्न सघाउने फिचर नै ईस्क्रो हो ।

ईस्क्रो फिचर पैसा पठाउने तथा पाउने दुवैबीच कुनै कारोबारमा चाहिने विश्वासको कडी हो । यो सुविधा प्रयोग गरेपछि कुनै पनि अपरिचित मान्छे वा संस्था जस्तै; कोही अनलाइन बिक्रेतालाई पैसा पठाउँदा ग्राहक पूर्ण रूपमा ढुक्क नभइन्जेलसम्म पैसा भुक्तानी हुँदैन ।

ईस्क्रो फिचर प्रयोग गर्दा ग्राहकले पहिले नै पैसा पठाउनुपर्ने हुन्छ । सामान वा सेवा पाइसकेपछि मात्र रकम रिलिज गर्नुपर्ने हुन्छ । 

यदि रिलिज गरेन भने रकम पाउनुपर्ने व्यक्ति वा संस्थाले रिक्वेस्ट गरिरहन्छन् । तर, पनि रिलिज गर्न सुर गरेन भने पाउनुपर्ने व्यक्तिले ईसेवालाई सोझै कम्प्लेन गर्न सक्छन् । त्यस्तै रकम पठाएको व्यक्तिले पनि सामान नपाएको खण्डमा ईसेवालाई कम्प्लेन गर्न सक्छन् ।

कम्प्लेन गर्दा कारोबार गरेको डकुमेन्ट वा कुराकानीको स्क्रिनशट वा अन्य विभिन्न कुराहरू प्रमाणका रूपमा पेस गर्नुपर्ने हुन्छ । त्यसपछि ईसेवाले दुवै पक्षबीच विभिन्न माध्यमबाट सम्पर्क गरेर कुरा मिलाई भुक्तानी सम्पन्न गराउँछ ।

यदि कम्प्लेन गर्नुपर्‍यो भने त्यसका लागि ५० रुपैयाँ शुल्क लाग्ने कम्पनीले उल्लेख गरेको छ । 

कसरी प्रयोग गर्ने ‘ईस्क्रो’ फिचर ?

- सबैभन्दा पहिले ईसेवा खोल्नुहोस् । 

- त्यसपछि 'सेन्ड मनी' (Send Money) को अप्सन छान्नुहोस् ।

- अनि रिसिभर आईडीमा गई फोन नम्बर राख्नुहोस् । 

- त्यसपछि रकम राख्ने पेज खुल्छ । उक्त पेजमा रकम पाउने व्यक्तिको नाम र फोन नम्बर भएको अप्सन तल ‘युज ईस्क्रो सर्भिस’ (Use eScrow Service) अन गर्नुहोस् । 

- यति गरेपछि कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् । (यति गरेपछि अब डिस्क्लेमर को पपअप अप्सन खुल्छ । अनि टर्म्स एन्ड कन्डिसन पढेर (आई एग्रि) को बटनमा थिच्नुहोस् ।)

- यति भएपछि पुनः कन्फर्मको बटनमा थिच्नुहोस् । 

- त्यसपछि सामान वा सेवा पूर्ण रूपमा पाइसकेपछि तपाईंलाई बिक्रेताले रिक्वेस्ट पठाउँछ । (आफूले सामान वा सेवा दिइसकेपछि बिक्रेताले नोटिफिकेसन मार्फत ईस्क्रो सेवाको रिक्वेस्ट पठाउन सक्नेछन् । यद्यपि सामान वा सेवा पाइसकेपछि सेन्डरले रिक्वेस्ट नआइकनै पनि आफैंले रकम रिलिज गर्न मिल्छ । )

- यदि सामान पठाइसकेपछि रकम आएन वा रकम पठाइसकेपछि सामान आएन भने दुवै पक्षले कम्प्लेनको बटनमा थिचेर प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

- त्यसपछि ईसेवाले दुवै पक्षबीच कुरा गरेर कारोबार सम्पन्न गराउनेछ ।  

ईस्क्रो फिचर प्रयोग गरिसकेपछि पैसा पूरै आएन, सामान भनेजस्तो आएन, सामान पठाएर पनि पैसा आएन वा सामान नै आएन भने कम्प्लेन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १३:४३