काठमाडौं । कर्मचारीको गोपनीयता हनन् हुने भन्दै सप्तरी जिल्ला प्रशासन परिसरमा फोटो र भिडिओ खिच्न रोक लगाइएको छ । मंगलबार एक सूचना जारी गर्दै सप्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले कार्यालयमा आउने सेवाग्राही, पत्रकार तथा सर्वसाधारणले अनुमति बिना कार्यालय परिसरभित्रको फोटो भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेको भन्दै अब त्यस्तो कार्य गर्न नदिने जानकारी दिएका हुन् ।
"यस जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सेवा लिन आउने सेवाग्राही. पत्रकार. सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसर भित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन पत्र-पत्रिकामा राखेको पाइएकाले कर्मचारीको व्यक्तिगत गोपनीयताको हक र कार्यालयको सुरक्षा संवेदनशीलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको छ," सूचनामा लेखिएको छ ।
यदि उक्त सूचना विपरीत फोटो तथा भिडिओ खिचेको पाइएमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।