काठमाडौं । ह्याकरले किबोर्डमा टाइप गरेको आवाज सुनेकै भरमा पासवर्ड अनुमान लगाउनसक्ने साइबर सुरक्षा विश्लेषकले चेतावनी दिएका छन् । साइबर आक्रमणको नयाँ तरिका ‘कीस्ट्रोक लगिङ’ प्रयोग गरी ह्याकरले प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन सक्ने उनीहरूको निष्कर्ष छ ।
बिपिङ कम्प्युटरले प्रकाशित गरेको रिपोर्टअनुसार बेलायती विश्वविद्यालयहरूका अनुसन्धानकर्ताले यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरूले डिप लर्निङ मोडेललाई किबोर्डमा कुन अक्षर टाइप गर्दा कस्तो आवाज आउँछ भन्ने कुराको तालिम दिएका थिए । पछि परीक्षण गर्दा उक्त डिप लर्निङ मोडेलले ९५ प्रतिशत सटीकताका साथ पासवर्ड अनुमान गरेको उनीहरूले बताएका छन् ।
यससँगै ह्याकरहरूले प्रयोगकर्ताको पासवर्ड चोरी गर्नका लागि यो तरिका अपनाउन सक्ने जोखिम बढेको छ । यसका लागि ह्याकरले प्रयोगकर्ताको डिभाइसमा यस्तो स्पाइवेयर इन्स्टल गर्नेछन्, जसले टाइप गरेको आवाजलाई कम्प्युटर वा माइक भएको अन्य डिभाइसबाट अडियो लिनेछ ।
त्यसबाहेक पनि ह्याकरले जुम कल प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गर्ने सम्भावना बढेको छ । प्रयोगकर्ताहरू जुम कलको च्याटमा किबोर्ट टाइप गर्दै टेक्स्टहरू पठाउँछन् । त्यसैलाई एआईद्वारा विश्लेषण गरी ह्याकरले उनीहरुको पासवर्ड थाहा पाउनसक्ने अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धानकर्ताले यो प्रक्रिया अपनाउँदा ९३ प्रतिशत सटीक पासवर्ड अनुमान लगाएका थिए ।
यसमा अनुसन्धानकर्ताले विशेष किबोर्डको आवाज थाहा पाउन कसरी डिप लर्निङ मोडेललाई तालिम दिए भन्ने प्रश्न आउँछ । त्यसबाहेक पनि अनुसन्धानकर्ताले सुरक्षा र गोपनीयतालाई बढी केन्द्रित गर्ने कम्पनी जस्तै एप्पलमा परीक्षण गरेका थिए ।
यसका लागि अनुसन्धानकर्ताले नयाँ म्याकबुक प्रोका ३६ ओटा की लगातार २५ पटक टाइप गरेर रेकर्ड गरे । त्यसपछि उनीहरूले यस्तो सफ्टवेयर प्रयोग गरे, जसको सहायताले हरेक कीबाट निस्किएको आवाज पहिचान गर्न सक्थ्यो । कैयौं पटकको असफलतापछि अनुसन्धानकर्ताले अन्ततः कीस्ट्रोक मार्फत ९५ प्रतिशत सटीक रिजल्ट पाउन सफल भए ।
यो अनुसन्धान प्रयोजनका लागि गरेकाले तत्कालै डराइहाल्न पर्ने अवस्था नभएको अनुसन्धानकर्ता बताउँछन् । तर, पनि यसरी पासवर्ड अर्काले थाहा पाउन सक्छ भन्ने कुरा थाहा पाइसकेपछि आफूले सतर्कता भने अपनाउनुपर्छ ।