काठमाडौं । तपाईंले कुनै पनि प्रयोगकर्तालाई इन्स्टाग्राममा ब्लक गर्नुभयो भने उसले तपाईंको प्रोफाइल, तपाईंको पोस्टमा आएको लाइक, शेयर, कमेन्ट, शेयर देख्न पाउँदैन । त्यति मात्र नभई तपाईंलाई मेन्सन, ट्याग वा मेसेज गर्नबाट पनि उक्त व्यक्ति वञ्चित हुन्छ ।
तपाईंले ब्लक गरेको व्यक्तिले इन्स्टाग्राममा तपाईंलाई सर्च गर्यो भने उसको सर्च रिजल्टमा तपाईंको नाम देखिँदैन । यो इन्स्टाग्राममा आफ्नो गोपनीयता सुरक्षित राख्ने सबैभन्दा उपयुक्त उपाय हो । तर, कसैले तपाईंलाई नै ब्लक गरेको छ भने ?
यदि तपाईंले इन्स्टाग्राममा कसैलाई फलो गर्नुभएको छ, तर तपाईंले त्यो अकाउन्ट फेला पार्नु भएन भने त्यसको अर्थ उक्त व्यक्तिले आफ्नो अकाउन्ट डिएक्टिभेट वा डिलिट गरेको हुनसक्छ । अथवा कतिपयले तपाईंलाई फलोअरबाट हटाएका हुनसक्छन् त्यसैले उनीहरूको कन्टेन्ट तपाईंको फिडमा नदेखिएको हुनसक्छ । यसमा तपाईंलाई सो व्यक्तिले ब्लक गरेको पनि हुनसक्छ ।
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तालाई कसैले पनि ब्लक गरेको छ भने त्यसको जानकारी दिँदैन । तर, हामी त्यस्ता तरिका उल्लेख गर्दैछौं, जसको सहायताले तपाईंले आफूलाई इन्स्टाग्राममा कसले ब्लक गरेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।
युजरनेम सर्च गर्नुहोस्
तपाईंलाई इन्स्टाग्राममा कसैले ब्लक गरेको छ भने सो अकाउन्टबाट उसको युजरनेम सर्च गर्दा अकाउन्ट भेटिँदैन । त्यसैले तपाईंले युजरनेम सर्च गरेर आफूलाई उक्त व्यक्तिले ब्लक गरेको छ वा छैन थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि तलका प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले आफ्नो इन्स्टाग्राम अकाउन्ट सो व्यक्तिको युजरनेम सर्च गर्नुहोस् ।
- यदि भेटिएन भने अर्को इन्स्टाग्राम अकाउन्टबाट सोही युजरनेम राखेर सर्च गर्नुहोस् (अथवा https://instagram.com/@username राखेर ब्राउजरमा खोज्न सक्नुहुन्छ) (वा आफ्नो कुनै साथीलाई युजरनेम सर्च गर्न पनि भन्न सक्नुहुन्छ) ।
- यदि अर्को अकाउन्टबाट इन्स्टाग्राम अकाउन्ट खोज्दा भेटियो भने तपाईंलाई सो अकाउन्ट भएको व्यक्तिले ब्लक गरेको छ भन्ने बुझिन्छ ।
पहिले गरेका कमेन्ट र मेसेज हेर्नुहोस्
तपाईंसँग इन्स्टाग्राममा जोडिएको व्यक्तिले कुनै समय तपाईंको पोस्टमा मेसेज गरेको वा पोस्टमा कमेन्ट गरेको हुनसक्छ । तपाईंले सो व्यक्तिले तपाईंलाई मेसेज पठाएको छ वा इन्स्टाग्राममा तपाईंहरूको कुराकानी भएको छ भने मेसेज ब्लक गरिसकेपछि पनि देखिन्छ ।
त्यसका लागि सबैभन्दा पहिले सो व्यक्तिको च्याट खोल्नुहोस् । अनि माथि प्रोफाइलमा ट्याप गरी उसको प्रोफाइल हेर्नुहोस् । यति भएपछि यदि सो व्यक्तिको टाइमलाइनमा ‘युजर नट फाउन्ड’, ‘सरी, दिस पेज इज नट अभाइलेभल’ लेखेको छ भने सो व्यक्तिले तपाईंलाई ब्लक गरेको हुनसक्छ । कमेन्ट वा लाइकबाट ब्लक गरेको छ वा छैन भन्ने थाहा पाउन माथिकै तरिका अपनाउन सकिन्छ ।
माथि उल्लेख गरिएका सङ्केतको अर्थ ब्लक गरेको छ भन्ने मात्रै हुँदैन । त्यसको अर्थ सो व्यक्तिले अकाउन्ट डिलिट वा डिएक्टिभेट गरेको पनि हुनसक्छ ।