close

एनसेल प्रयोगकर्ताले पनि अब आत्महत्या रोकथाम हटलाइन सेवामा निःशुल्क कल गर्न पाउने*

टेकपाना टेकपाना

भदौ २२, २०८० १३:२१

एनसेल प्रयोगकर्ताले पनि अब आत्महत्या रोकथाम हटलाइन सेवामा निःशुल्क कल गर्न पाउने*

काठमाडौं । आत्महत्या रोकथामका लागि सञ्चालनमा आएको हेल्पलाइन नम्बर ११६६ मा अब एनसेलका ग्राहकले समेत निःशुल्क फोन गर्न सक्ने भएका छन् । आत्महत्या तथा आत्म हानीको सोच आउँदा यो नम्बरमा सम्पर्क गरी मनोचिकित्सक तथा मनोपरामर्शदाताबाट आवश्यक परामर्श लिन सकिन्छ । 

यसअघि नेपाल टेलिकमका नम्बरबाट मात्रै यो हटलाइनमा फोन लाग्ने गरेको थियो । एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालबीचको सहकार्यबाट उक्त सेवा विस्तार गरिएको हो । 

हालै विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले हेल्पलाइनको लागि सिम सहितको ह्याण्डसेट सोलुसन हस्तान्तरण गरेको छ । यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो । 

आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्ने बताए । “राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवालाई अझ प्रभावकारी बनाउनका लागि योगदान पुर्‍याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं,” उनले भने । 

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले यो हेल्पलाइन सुरु गरिएको हो । आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याहरूका बारेमा फोन आउने क्रम बढिरहेको तथ्याङ्कले  देखाउँछ । यस्तो अवस्थामा एनसेलको यो सहकार्यले ठूलो महत्व राख्ने र अमूल्य जीवन बचाउन योगदान पुर्‍याउने मानसिक अस्पतालका निर्देशक डा. अनन्त प्रसाद अधिकारीको भनाई छ । 

जहिले मनमा गाह्रो महसुस हुने, तनाव हुने, आफैंलाई हानी पुर्‍याउन वा दुःख दिन मन लाग्ने जस्ता लक्षणहरू देखिएमा तत्काल यो हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श लिई त्यस्ता सोचबाट बाहिर आउन सहयोग लिन सकिने मानसिक अस्पतालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन र टीपीओ नेपालको सहयोगमा मानसिक अस्पताल, लगनखेल पाटनबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

(*समाचारकाे शीर्षक परिवर्तन गरिएकाे छ । सं.)

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १५:२