close

हरित अर्थतन्त्रमा काम गर्न चाहनेलाई अनुदान दिँदै ब्रिटिश काउन्सिल, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ २३, २०८० ९:६

हरित अर्थतन्त्रमा काम गर्न चाहनेलाई अनुदान दिँदै ब्रिटिश काउन्सिल, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाली युवा उद्यमीलाई ब्रिटिश काउन्सिलले अनुसन्धान तथा विकास अनुदान दिने भएकाे छ । काउन्सिलले आफ्नो ‘इन आवर ह्यान्डस’ (आईओएच) कार्यक्रम अन्तर्गत इच्छुक उद्यमीका लागि आवेदन खुला गरेको हो । 

कला र संस्कृतिका माध्यमबाट जलवायु परिवर्तन कम गर्न सहयोग गर्ने परियोजनालाई सो अनुदान दिन लागिएको हाे । यसबाट नेपालमा ग्रीन इकोनोमी (हरित अर्थतन्त्र) विकास गर्न सहभागीको क्षमता अभिवृद्धि गर्ने, उनीहरूलाई स्रोत तथा प्लेटफर्म उपलब्ध गराउने काउन्सिलले जनाएको छ । 

काउन्सिलका अनुसार १० ओटा अवधारणालाई अनुसन्धान अनुदान र छ ओटा अवधारणालाई विकास अनुदान प्रदान गरिनेछ । सहभागीहरूले अनुदान प्राप्त गर्न विभिन्न चरण पार गर्नुपर्ने हुन्छ भने कार्यक्रमको अवधि आठ महिना लामो हुनेछ । 

कार्यक्रमको कार्यान्वयन क्रममा विभिन्न क्षेत्रका विज्ञहरूको ज्ञान, सीप र अनुभवको उपयोग गरिने बताइएको छ । त्यस्तै सहभागीलाई व्यापारिक योजना बनाउन सहयोग गर्ने ‘क्राफ्ट टुलकिट’ नामक एप्लिकेसन समेत प्रयोगमा ल्याइने छ ।

नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा, सीप र रैथाने ज्ञानलाई प्रविधि र प्राविधिक ज्ञानको माध्यमबाट व्यावसायिक रूपमा अघि बढाउन यस कार्यक्रमले सहयोग गर्ने बताइएको छ । त्यस्तै कार्यक्रममा आउने प्रकृति, सम्पदा र संस्कृतिमैत्री अवधारणाले दिगो पर्यावरणमैत्री विकासमा सहयोग पुग्ने अपेक्षा छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय र एडिनवर नेपियर विश्वविद्यालय एकेडेमिक पार्टनर रहेका छन् । त्यस्तै स्टोरी साइकल, नेपाल आर्ट भिलेज र एप्लाइड आर्ट्स सेक्टर पार्टनरका रूपमा रहेका छन् । साथै राष्ट्रिय आविष्कार केन्द्रले यस कार्यक्रमलाई सहयोग गरेको छ 

अनुदान प्राप्त गर्न इच्छुकले भदौ २९ गतेसम्म यहाँ क्लिक गरी अनलाइन आवेदन दिनुपर्ने छ ।
 

 

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० ११:६