काठमाडौं । एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई इन्स्टाग्राममार्फत सोझै सम्पर्क गर्न सकिने भएको छ । आइतवार आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना सीईओको आधिकारिक इन्स्टाग्राम अकाउन्ट सार्वजनिक गरेको हो ।
'हामी तपाईंसँगै' नारा अन्तर्गत यस्तो अग्रसरता लिइएको उल्लेख छ । "ग्राहकहरूले मसँग सिधै सम्पर्क गर्न सक्नेछन् र यसरी सम्पर्कमा आउने ग्राहकहरूका कुरा सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलीले सुनिश्चित गर्नेछ," जाब्बोरले भने, "यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुका साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माणमा योगदान गर्नेछ ।"
यससँगै कम्पनीले @ncellceo युजरनेमको भएको इन्स्टाग्राम ह्यान्डलको औपचारिक सुरुवात गरेको छ । प्रयोगकर्ताले आफ्ना कुराहरू राख्न इन्स्टाग्रामको यो अकाउन्टमा मेसेज पठाउन सक्नेछन् । त्यस्तै ईमेल एड्रेस [email protected] मा ईमेल पठाएर पनि सीईओलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
यसरी कम्पनीका सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवतः पहिलो कर्पोरेट हाउस भएको कम्पनीको दाबी छ ।