close

के साँच्चिकै एप्पल बाहेकका यूएसबी केबुल आईफोन १५ मा प्रयोग गर्न सकिंदैन ?

टेकपाना टेकपाना

असोज ७, २०८० १३:३४

के साँच्चिकै एप्पल बाहेकका यूएसबी केबुल आईफोन १५ मा प्रयोग गर्न सकिंदैन ?

काठमाडौं । आईफोनको पछिल्लो सिरिज आईफोन १५ मा आएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो, लाइटनिङ पोर्टको ठाउँमा यूएसबी-सी । यद्यपि गत हप्तादेखि उक्त सिरिजका फोनहरू औपचारिक रूपमा एप्पल स्टोरमा उपलब्ध हुन थालेका छन् । 

तर धेरैको मनमा एउटा प्रश्न भने अझै बाँकी नै छः के पुराना यूएसबी-सी केबुल नयाँ फ्ल्यागशिप लाइनअपमा काम गर्छ ? एप्पलले चार्जिङ, सिंकिङ डेटा र भिडिओ तथा अडियो प्ले गर्न प्रयोग हुने विश्वव्यापी मापदण्ड यूएसबी-सी प्रयोगमा ल्याएको हो ।

कम्पनी स्वयम्‌ले समेत यूएसबी-सी स्ट्यान्डर्डमा बनेका यूएसबी-सी केबुल र पावर एडप्टरको माध्यमबाट आईफोन चार्ज गर्न सकिने उल्लेख गरेको छ । "यस्ता केबुल तथा पावर एडप्टर एप्पल र अन्य निर्माताहरूबाट उल्लेख्य रूपमा उपलब्ध छन्," एप्पलले भनेको छ ।

जसअनुसार अन्य यूएसबी-सी केबुल समेत आईफोन १५ सिरिजका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ । यस हिसाबले तपाईंका लागि आईफोन १५ मा एप्पलले नै बनाएको केबुल चाहिन्छ भन्ने छैन । 

गत हप्ता आईफोन १५ सार्वजनिक हुनु अघिसम्म आईफोन १५ सिरिजको कनेक्टिभिटी फिचर सम्बन्धी एउटा विषय निकै चर्चित बनेको थियो । उक्त हल्ला अनुसार एप्पलले प्रयोगकर्तालाई थर्ड पार्टी यूएसबी-सी केबुल प्रयोग गर्न नदिने बताइएको थियो । 

कम्पनीले आफ्ना प्रयोगकर्तालाई केवल एप्पलबाट निर्मित एक्सेसरिज मात्र खरिद गर्न भन्दै सक्रिय पूर्वक प्रोत्साहन गर्दा त्यस्ता हल्लाहरूलाई बल पुगेको थियो । एप्पल इन्साइडरका अनुसार पहिलेदेखि नै तपाईंको साथमा रहेका अधिकांश यूएसबी-सी एक्सेसरिजले आईफोन १५ मा विभिन्न उपकरण जोड्न जोड्न सकिन्छ ।

उदाहरणका लागि फुटेज तान्नका लागि तपाईंले क्यामेरा कनेक्ट गर्न सक्नु हुन्छ, राम्रो गुणस्तरको अडियोको लागि माइक्रोफोन जोड्न सक्नु हुन्छ । यति मात्र नभएर तारयुक्त गेमिङ कन्ट्रोलर, डिस्प्ले, स्टोरेज डिभाइस, तारयुक्त हेडफोन, सवारी साधनमा हुने कारप्ले, इथरनेट एडप्टर, कार्ड रिडर जस्ता उपकरण समेत यूएसबी केबुलको माध्यमबाट आईफोन १५ मा जोड्न सकिन्छ । 

आईफोन १५ र १५ प्लसमा ४८० एमबीपीएस डेटा ट्रान्सफर गर्नसक्ने यूएसबी २.० टाइपसी पोर्ट राखिएको छ । त्यस्तै आईफोन १५ प्रो र १५ प्रो म्याक्समा १० जीबीपीएस क्षमताको यूएसबी ३.२ जेन २ टाइप-सी  पोर्ट दिइएको छ । यी सबै मोडेलमा २० वाटको फास्ट चार्ज सपोर्ट गर्ने क्षमता छ, अझ यूएसबी पीडी एडप्टरमार्फत त झन् २७ वाटसम्म रहेको छ ।

यस हिसाबले आईफोन प्रयोगकर्ताले । लाइटनिङ र यूएसबी-सीबीच त्यतिधेरै उपयोगिताको भिन्नता पाउने छैनन् । पोर्ट फरक आकारको भए पनि त्यसको क्षमता भने लगभग उस्ताउस्तै छ । प्रो मोडेलमा रहेको यूएसबी ३.३ जेन २ ले भने डेटा ट्रान्सफर स्पिडलाई बढाएको छ । उदाहरणको लागि यो पोर्टले ६० हर्जको फोरके प्रोरेस भिडि‌ओ सोझै एक्स्टर्नल एसएसडीमा रेकर्ड गर्न सक्छ । 



 

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १३:३४