close

गुणस्तरीय सेवासहित यी १९ जिल्लालाई नेपाल टेलिकमले ‘नमूना जिल्ला’ बनाउने

टेकपाना टेकपाना

कात्तिक २४, २०८० २१:५

गुणस्तरीय सेवासहित यी १९ जिल्लालाई नेपाल टेलिकमले ‘नमूना जिल्ला’ बनाउने

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा दिने उद्देश्यले नमूना जिल्लाहरू कायम गर्ने भएकाे छ । यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

देशका सबै जिल्लाहरूमा यसैगरी सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । हाललाई पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पा जिल्लामा कम्पनीले नमूना सेवा उपलब्ध गराउने भएको छ ।

हाल सेवाका दृष्टिबाट नमूनाका रुपमा कायम गरिन लागिएका जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्याण्डर्ड सेट्स कायम हुनेगरी नेटवर्क स्थापित गरिनेछ,'' कम्पनीकाे विज्ञप्तिमा भनिएकाे छ, ''यी स्थानहरूमा निरन्तर गुणस्तरीय सेवा उपलब्धताको लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिनेछ ।''

ती जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव वस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने र सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजना समेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने कम्पनीले जनाएकाे छ ।

नमूना जिल्लाहरूमा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मतसम्भार, महसुल भुक्तानी जस्ता सेवा प्राप्त गर्न कम्पनीका कार्यालयमा उपस्थित नभइकन फोनबाट कल सेन्टरमार्फत सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गरिने कम्पनीले उल्लेख गरेकाे छ ।

''यसमा सेवासम्बन्धी कुनै गुनासो वा सिकायत रहेमा शीघ्र सम्बोधन गरी सेवा सञ्चालन गर्ने कार्य हुनेछ । बिना अवरोध सेवा प्रवाहका लागि सरोकारवाला निकायहरू विद्युत प्राधिकरण, खानेपानी, सडक लगायतका निकायहरूसँगको आवश्यक समन्वयमा पूर्वाधार निर्माण र सेवा विस्तारका कार्य सम्पन्न गरिनेछन्,'' विज्ञप्तिमा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० २१:५