close

पैदलयात्रु आफैले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने सिस्टम सञ्चालनमा

टेकपाना टेकपाना

मंसिर ११, २०८० १२:४१

पैदलयात्रु आफैले ट्राफिक लाइट बालेर बाटो काट्न सकिने सिस्टम सञ्चालनमा

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमवारदेखि बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लगानीमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको हो ।

“काठमाडौं महानगरपालिकाले पैदल यात्रु आफैंले बटन थिच्दा हरियो बत्ती बल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो,” सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले भने, “यो बटन थिचेको पाँच सेकेन्डपछि हरियो लाइट बल्छ । पैदल यात्रुले हरियो बत्ती बलेको ३० सेकेन्डभित्र बाटो पार गरिसक्नुपर्ने हुन्छ ।”

उनले अगाडि भने, “यो प्रविधि एकदमै उपयुक्त छ । यसलाई प्रयोग गर्न नजानेको अवस्थामा भने दुर्घटना हुन सक्छ । यसलाई प्रयोग गर्न जान्नुपर्ने हुन्छ भने त्यसले डिस्प्लेमा देखाउने सूचनालाई ख्याल गरेर बाटो काट्नुपर्छ ।”

जसले जतिबेला चाह्यो त्यतिबेला बटन थिचेर लाइट बाल्न भने पाउँदैन । प्रहरी नायब महानिरीक्षक पोखरेलका अनुसार जेब्रा क्रसिङको गरियो लाइट बलेको दुईदेखि तीन मिनेटपछि मात्र आफैं बटन थिचेर लाइट बाल्न सकिने गरी यो प्रणाली विकास गरिएको छ । 

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपमा यो हाइवेमा अर्थपूर्ण नहुने बताए । यसका लागि जनप्रतिनिधिहरूले अन्डर पास वे बाटो बनाउने तयारी गरिरहेको श्रेष्ठको भनाइ छ ।

“ट्राफिक लाइट अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु,” उनले भने, “दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन । आगामी वर्षमा अन्डर पास वे बाटोका रूपमा जेब्रा क्रसिङ राख्न सकिन्छ ।”

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १२:४१