close

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट डा. राजु अधिकारी सम्मानित

टेकपाना टेकपाना

मंसिर २१, २०८० १३:७

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट डा. राजु अधिकारी सम्मानित

काठमाडाैं । अष्ट्रेलिया निवासी वैज्ञानिक एवं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नवप्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेसनका संयोजक डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) द्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदान गरेकाे सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले डा. अधिकारीको तर्फबाट ग्रहण गरे । 

स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप, ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्‍याएको भन्दै डा. अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन् ।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलईडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नवीन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरूको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नवीन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेसन ट्रष्ट लगायतका संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरूसँग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा उनकाे मुख्य योगदान रहेको बताइएकाे छ ।  

दाङको देउखुरी मुसुरियाका अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ  र आरएमआईटी विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन् । उनका २६ ओटा पेटेन्टहरु दर्ता छन् भने १०० भन्दा बढी अनुसन्धानात्मक सामग्री प्रकाशित छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ। 

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालीन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नास्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए । 

 

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १३:७