close

गुगल, फेसबुक, एक्स सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

टेकपाना टेकपाना

मंसिर २२, २०८० १७:२५

गुगल, फेसबुक, एक्स सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

 

काठमाडौं । एसिया इन्टरनेट कोलिसन (एआईसी)ले नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका माध्यममाथि भइरहेको प्रतिबन्धलाई लिएर सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बैठकका लागि अनुरोध गरेको छ । विभिन्न प्रविधि कम्पनी सम्बद्ध यस संस्थाले नेपालमा सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका र सामाजिक सञ्जालका माध्यममाथि भएको प्रतिबन्धबारे छलफल गर्न अनुरोध गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई बोधार्थ दिएर पठाइएको पत्रमा एआईसीले तीन मुख्य विषय उल्लेख गरेको छ । 

सरकारले हालै जारी गरेको सामाजिक सञ्जाल नियमन निर्देशिका २०८०, टिकटक प्रतिबन्ध र सरोकारवालासँगको छलफलबारे पत्रमा उल्लेख गरिएको छ । ​नेपाल सरकारले सामाजिक सञ्जालका माध्यमहरूसँग कुनै छलफल र समन्वय नगरी निर्देशिका जारी गरेकाे र यसले गर्दा सामाजिक सञ्जाल कम्पनीहरूलाई गाह्रो हुने एआईसीकाे विश्लेषण छ ।  

त्यस्तै सामाजिक सञ्जालका माध्यमलाई २४ घण्टाभित्र कन्टेन्ट हटाउने दिइएको निर्देशन जायज नभएकाे, टिकटक प्रतिबन्ध र त्यसलगत्तै अन्य सामाजिक सञ्जालका प्लेटफर्ममाथि कारबाही गर्ने सरकारको तयारीप्रति एआईसीले आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

सरकारले सामाजिक सञ्जालमाथि अचानक लगाएको प्रतिबन्धलाई एआईसी‍ले लगानीकर्ताको विश्वास र यसले नेपालको डिजिटल उद्देश्यलाई हानी पुऱ्याउन सक्ने जनाएको छ । डिजिटलाइजेसनलाई लिएर देशले राखेका महत्त्वाकाङ्क्षी योजनालाई पूरा गर्न सरकारले यस्ता नवीनतम् प्रविधिलाई प्रेरित गर्नुपर्नेमा एआईसीको धारणा छ । 

यी विविध सवालबारे प्रत्यक्ष वा भर्चुअल छलफल गर्न आवश्यक भएको भन्दै एआईसीले मन्त्रालयलाई बैठकको प्रस्ताव राखको छ ।

एआइसी एसिया पेसिफिक क्षेत्रको यस्तो संस्था हो, जसले इन्टरनेट तथा प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई प्रतिनिधित्व गर्छ । यो संस्थामा विश्वका प्रतिष्ठित कम्पनीहरू मेटा, अमेजन, एप्पल, गुगल, एक्स कर्प, लिङ्क्डइन, राकुटेन, याहु, स्पोटिफाई तथा बुकिङ डटकम लगायतका संस्था सदस्यका रूपमा आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १७:२५