काठमाडौं । नक्कली सवारी दर्ता किताब (ब्लु बुक) बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रवार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक घर भएका ४२ वर्षीय दिल बहादुर घिसिङ र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् । घिसिङ काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्दै आएका थिए भने तामाङ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ बस्दै आएका थिए ।
प्रहरीका अनुसार कार्यालयलाई काठमाडौं उपत्यकामा केही व्यक्तिले सवारी दर्ता किताब लगायतका कागजात तयार गरी लिखत किर्ते गर्ने गरेको गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार साँझ ५ बजेको समयमा घिसिङलाई कालिमाटीबाट र तामाङलाई सोही दिन साँझ ६ बजे कागेश्वरी मनोहरा नगरपालिकाबाट पक्राउ गरेको थियो ।
उनीहरूबाट प्रहरीले भन्सार चोरी पैठारी गरी ल्याएका विभिन्न ब्रान्डका पाँच ओटा गाडीसमेत बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसबाहेक बागमती प्रदेश ०१ ०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, बागमती प्रदेश ०१ ०२८ च ६३१३ नम्बरको सवारी दर्ता प्रमाणपत्र एक थान, बागमती प्रदेश ०१ ०२३ च २६५७ नम्बरको कारको सवारी दर्ता प्रमाणपत्र एक थान, बागमती प्रदेश ०१ ०२६ च ६५७१ नम्बरको कारको सवारी दर्ता प्रमाणपत्र १ थान र बा २१ च १४६७ नम्बरको कारको सवारी दर्ता प्रमाणपत्र एक थान बरामद गरेको छ ।
उनीहरूबाट विभिन्न सरकारी कार्यालयका चार ओटा छापहरू जफत भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आइतवार जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।