close

‘सेक्स ट्राफिकिङ’ मार्फत पैसा कमाएको भन्दै पोर्नहबलाई २४ करोड जरिवाना

टेकपाना टेकपाना

पुस ८, २०८० १३:५८

‘सेक्स ट्राफिकिङ’ मार्फत पैसा कमाएको भन्दै पोर्नहबलाई २४ करोड जरिवाना

काठमाडौं । ‘सेक्स ट्राफिकिङ’ अर्थात् यौन शोषणको लागि बेचबिखनमा परेका पीडितको भिडिओबाट आम्दानी गरेको आरोपमा पोर्नहबको मातृ कम्पनी आयलोले १८ लाख डलर (करिब २४ कराेड रूपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

अमेरिकास्थित ब्रुकलिन संघीय अदालतले कम्पनीलाई बिहीवार गैरकानूनी तरिकाले यौनजन्य बेचबिखनको भिडिओबाट आम्दानी गरेको भन्दै उक्त रकम भराउन आदेश दिएको हो ।

माइन्डगिकका रूपमा परिचित आयलोले यो घटना मिलाउन अमेरिकी सरकारसँग सम्झौता गर्नुपर्ने थियो । सम्झौतापश्चात कम्पनीले अमेरिकी सरकारलाई १८ लाख डलर र सो कम्पनीले आफ्नो वेबसाइटमा भिडिओ राखेका कारण पीडित भएका महिलालाई क्षतिपूर्ति रकम दिने सहमति गरेको छ ।

त्यसका साथै उक्त कम्पनीले आफ्नो साइटमा गैरकानूनी कन्टेन्ट राखे/नराखेको जाँच गर्नका लागि स्वतन्त्र निकायले तीन वर्षसम्म नियमन गर्ने बताइएको छ ।

यसो त कम्पनीले अन्य प्रडक्सन हाउसले निर्माण गरेका भिडिओ आफ्नो साइटमा राख्ने गर्छ । अमेरिकी सरकारले पनि यो कम्पनीले आफैंले जानी जानी कुनै संघीय यौन बेचबिखनको कानून उलङ्घन गरेको आरोप लगाएको छैन । यद्यपि कम्पनीले आफ्नो व्यवसाय गरिरहँदा यौनजन्य बेचबिखनमा संलग्न समूहसँग काम भइरहेको कुरा पहिले नै थाहा पाउनुपर्ने अदालतको ठहर छ ।

सन् २०१७ देखि २०१९ सम्म प्रडक्सन कम्पनीले आयलोलाई पोर्नोग्राफी कन्टेन्ट स्ट्रिम गरेवापत रकम तिरेको थियो । उक्त कन्टेन्टमा ती महिलाहरू थिए, जो आफ्नो भिडिओ अनलाइन साइटमा प्रसारण नहुन् भन्ने चाहन्थे । सन् २०१६ मा भने भिडिओमा देखिएको युवतीहरूले पोर्नहबलाई आफ्नो भिडिओ अटाउन अनुरोध गरेका थिए । पछि आयलोले सन् २०१७ मा त्यस्ता भिडिओ बनाउने प्रडक्सन कम्पनीमाथि पनि उजुरी दर्ता भएको थाहा पायो ।

सीएनएनका अनुसार युवतीहरूले आफू भएको भिडिओ हटाउन कम्पनीलाई अनुरोध गरेको भएपनि कम्पनीले भने त्यसलाई बेवास्ता गरेको थियो । त्यति मात्र नभइ महिलाले भनेको जस्तो ती भिडिओमा उनीहरू देखिएका छन् वा छैनन् भन्ने विषय पनि प्रमाणित गरेको थिएन ।

अदालतको कागज अनुसार आयलो कम्पनीले सन् २०१९ सम्म पनि ती प्रडक्सन कम्पनीबाट भिडिओ प्राप्त गरेको थियो, जसमा पीडित भनिएका महिलाहरू थिए । तीमध्ये केही भिडिओ अन्य प्रयोगकर्ताले उक्त प्लेटफर्ममा पुनः अपलोड गरिसकेका थिए ।

कम्पनीले आफूलाई फाइदा हुने भएपछि युवतीहरूको अनुरोध बेवास्ता गरेको एफबीआईका असिस्टेन्ट डिरेक्टर इन्चार्ज जेम्स स्मिथले भनेका छन् । आयलोले भने आफ्नो विज्ञप्तिमा उक्त प्रडक्सन कम्पनीले गैरकानूनी तरिकाले भिडिओ बनाएको थाहा पाएपछि समस्यामा परेको उल्लेख गरेको छ ।

“हामी हाम्रो प्लेटफर्म अवैध रूपमा प्रयोग गर्न खोज्नेहरूलाई रोक्न, र परिवर्तनशील खतरा तथा चुनौतीको जवाफ दिन सतर्क हुनुपर्छ,” कम्पनीले विज्ञप्तिमा लेखेको छ । आयलोले पोर्नहबबाहेक मोफोस, युपोर्न र 'माई डर्टी हबी' नामका साइटहरू सञ्चालन गर्ने गर्छ । क्यानडामा आधारित यो कम्पनी इथिकल क्यापिटल पार्टनर्सको पूर्ण स्वामित्वमा छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १५:५