close

इनकग्निटो मोडमा प्रयोगकर्तालाई ट्र्याक गरेको मुद्दामा ६ खर्ब क्षतिपूर्ति तिर्न गुगल सहमत

टेकपाना टेकपाना

पुस १५, २०८० १३:२३

इनकग्निटो मोडमा प्रयोगकर्तालाई ट्र्याक गरेको मुद्दामा ६ खर्ब क्षतिपूर्ति तिर्न गुगल सहमत

काठमाडौं । क्रोम ब्राउजरका प्रयोगकर्ता ट्र्याक गरेको मुद्दामा गुगल पाँच अर्ब डलर (६ खर्ब ६५ अर्ब रुपैयाँ बढी) तिर्न सहमत भएको छ । गोपनीयता सम्बन्धीको मुद्दा सुल्झाउन गुगल गत बिहीवार ठूलो रकम तिर्न सहमत भएको हो ।

क्रोम ब्राउजरमा भएको इनकग्निटो मोडबारे प्रयोगकर्तालाई भ्रममा राखेको कारण देखाउँदै २०२० मा यो मुद्दामा दायर भएको थियो । गुगलले इनकग्निटो मोड सधैं सुरक्षित र गोपनीयता केन्द्रित हुने बताउने गरेको छ ।

तर मुद्दामा गुगल एनालिटिक्स र एड मेनेजरले प्राइभेट ब्राउजिङमा समेत प्रयोगकर्ता ट्र्याक गरेको आरोप लागेको थियो । यसबाट लाखौं प्रयोगकर्ताहरू प्रभावित भएकाे बताउँदै पीडितहरूलाई गुगलले क्षतिपूर्ति दिनुपर्ने माग राखिएको थियो ।

यद्यपि न्यायाधीशले अझै पनि यो सम्झौता अनुमोदन गर्न बाँकी रहेको छ । आउँदो फेब्रुअरी महिनासम्ममा यो सम्झौताबारे फैसला आउनसक्ने इन्साइडरले लेखेको छ । मुद्दा दायर भएको वर्षमा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापन नचलाउने गुगलले बताएको थियो ।

त्यस्तै २०२३ सम्ममा क्रोम ब्राउजरमा प्रयोगकर्ताको डेटा भण्डारण गर्ने थर्ड पार्टी कुकी बन्द गर्ने ‍जनाएको थियो । तर अझै पनि थर्ड पार्टी कुकी हटाउन गुगलले ढिलाइ गरिरहेको द भर्जले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८० १३:५४