close

सामाजिक सञ्जालमार्फत जीवन साथी खोजिदिने भन्दै धनगढीमा खुल्यो म्यारिज ब्युरो

टेकपाना टेकपाना

पुस १९, २०८० २१:१७

सामाजिक सञ्जालमार्फत जीवन साथी खोजिदिने भन्दै धनगढीमा खुल्यो म्यारिज ब्युरो

 

काठमाडौं । धनगढीका एक युवाले सामाजिक सञ्जालमार्फत वर-वधू खोजिदिने सेवाको रूपमा म्यारिज ब्युरो सञ्चालनमा ल्याएका छन् । धनगढी-६ जयदुर्गे टोल मटियारीका २६ वर्षीय युवक द्रोण अवस्थीले धनगढीमा आधारित फारवेस्ट म्यारिज ब्युरो सुरु गरेका हुन् ।  

उनका अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएको यो ब्युरो सञ्चालनमा आएको करिब तीन महिना भइसकेको छ । विवाहका लागि  “म्याच मेकिङ” अर्थात् जोडी मिलाइदिने गरी ब्युरो सञ्चालनमा ल्याइएको उनले सुनाए । 

तर संस्थापक अवस्थीको ‘लभ अफेयर’ अर्थात् माया पिरती गाँस्ने कार्यमा भने ब्युरो संलग्न नहुने बताए । “हामी निश्चित शुल्क लिएर रजिस्ट्रेसन गराउँछौं र फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट उपयुक्त वर-वधू खोजिदिने काम गर्छौं,” उनले भने, “यस्ता पोस्टहरूका लागि सामाजिक सञ्जाल पेजहरूमा आवश्यकता अनुसार विज्ञापन समेत सञ्चालन गर्छौं ।”

वर-वधू खोज्ने क्रममा युवा-युवतीको नाम र तस्विर जस्तो व्यक्तिगत पहिचान खुल्ने विवरण भने सार्वजनिक नहुने र गोपनीयता पूर्ण रूपमा सुरक्षित राख्निने अवस्थीले सुनाए । “रजिस्ट्रेसन गराउने हरेक व्यक्तिको गोपनीयतालाई हामी उच्च सम्मान गर्छौं । महिलाको विषयमा त अझ धेरै संवेदनशील छौं,” उनले भने । 

“रजिस्ट्रेसन फाराममा व्यक्तिगत विवरण, सम्बन्धित व्यक्तिले वर/वधूका लागि राखेको अपेक्षा (उमेर, उचाई, शिक्षा, पेशा आदि ) र कम्पनीसँगको सम्झौता समावेश हुन्छ । नाम र तस्विर बाहेकको व्यक्तिगत विवरण तथा अपेक्षित विवरणको आधारमा हामी उपयुक्त वर/वधूको खोजी गर्छौं ।”

उदाहरणका लागि कुनै युवकले आफ्ना लागि वधू खोज्न रजिस्ट्रेसन गराएको छ भने उक्त व्यक्तिको पृष्ठभूमि र जीवन साथीमा अपेक्षा गरेको विवरण खुलाएर ब्युरोले पोस्ट तथा विज्ञापन गर्छ । यदि कुनै युवती इच्छुक देखिएको खण्डमा रजिस्ट्रेसन गर्न लगाएर युवकको तस्विर देखाइन्छ । 

सबै कुरा चित्त बुझेको खण्डमा युवतीको विवरणसहितको तस्विर युवकलाई पनि उपलब्ध गराइन्छ । यसरी दोहोरो रूपमा अपेक्षा मिलेको र एक अर्कालाई मन पराएको खण्डमा आपसी सम्पर्क कायम गराएर विवाहका लागि प्रक्रिया अगाडि बढाइने ब्युरोले जनाएको छ । 

 

हाल रजिस्ट्रेसनका लागि युवा-युवतीलाई तीन हजारदेखि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । तर अपाङ्ग र अशक्त व्यक्तिहरूबाट भने उक्त शुल्क नलिने अवस्थीले बताए । 

इच्छुक व्यक्तिले ब्युरोको ह्वाट्सएप नम्बर (९७६९९३२०७६), फेसबुक पेज र इन्स्टाग्राम अकाउन्टमार्फत सम्पर्क गरी रजिस्ट्रेसन गराउन सक्छन् । हिजोको दिनमा व्यक्तिगत रूप तथा लमीमार्फत वर-वधू खोजी हुने गरेकोमा समयको माग अनुसार प्रविधि मार्फत सोही किसिमको सेवा दिन ब्युरो सञ्चालनमा ल्याइएको अवस्थीले सुनाए । 

उनका अनुसार ब्युरो सञ्चालनमा आएयता तीन महिनाको अवधिमा १३/१४ जनाले रजिस्ट्रेसन गराइसकेका छन् भने एउटा जोडीको टुङ्गो लागिसकेको छ । बाँकी तीनचार जोडीको कुरा समेत अन्तिम चरणमा रहेको उनले सुनाए । 

“यस किसिमको सेवा दिनेहरू काठमाडौं केन्द्रित मात्रै छन् र उनीहरू अस्ट्रेलिया, अमेरिका जस्ता देशमा रहेका युवा-युवतीका लागि काम गरिरहेका देखिन्छन्,” उनले अगाडि भने, “तर राजधानी बाहिर स्थानीय रूपमा वर/वधू खोज्ने कुरामा समस्या देखेपछि धनगढीबाट ब्युरो सञ्चालनमा ल्याउने सोचेको हुँ ।”

धनगढी केन्द्रित भए पनि ब्युरोमा जतासुकैबाट रजिस्ट्रेसन गराउन सकिने अवस्थीले बताए । “जोडी खोज्नका लागि हामीले बैतडी, बाजुरा, बझाङ्ग लगायतका विभिन्न ठाउँमा शाखा तथा सम्पर्क व्यक्ति राखिरहेका छौं,” उनले भने । 

सिभिल इन्जिनियर समेत रहेका अवस्थीले ३०/४० हजार रुपैयाँको लगानीबाट ब्युरो सुरु गरेका हुन् । ब्युरोमार्फत सस्तो र वातावरणमैत्री ‘इभेन्ट म्यानेजमेन्ट’ (वैवाहिक कार्यक्रम आयोजना) गर्ने योजना रहेको समेत उनले सुनाए । 

“अब चाँडै नै ब्युरोको वेबसाइट पनि सार्वजनिक गर्दैछौं,” उनले भने, “तर मोबाइल एप भने तत्काल ल्याउने कुनै योजना बनिसकेको छैन, लगानी जुट्दै गएको खण्डमा त्यो पनि आउनेछ ।”

पछिल्लो अध्यावधिक: पुस १९, २०८० २१:१७