close

पशुपति क्षेत्रमा हुने आरतीको व्यावसायिक भिडिओ खिच्ने अधिकार हामीसँग मात्रै छ- बुढासुब्बा

टेकपाना टेकपाना

पुस २१, २०८० १६:१४

पशुपति क्षेत्रमा हुने आरतीको व्यावसायिक भिडिओ खिच्ने अधिकार हामीसँग मात्रै छ- बुढासुब्बा

काठमाडौं । पशुपति आर्यघाटमा हुने गङ्गा आरती र दीप प्रज्वलनको भिडिओ व्यक्तिगत प्रयोगका लागि खिच्न पाइने, तर व्यवसायिक प्रयोजनका लागि नपाइने बुढासुब्बा डिजिटल प्रालिका सञ्चालक नवराज गिरीले बताएका छन् । कानूनी प्रक्रियाबाट आफूले मात्र आरतीको प्रत्यक्ष प्रसारण गर्न पाउने अधिकार पाएकाले व्यावसायिक प्रयोजनार्थ अरुले आरतीको भिडिओ खिच्न नपाउने गिरीले बताएका हुन् ।

“टेन्डर प्रक्रियाबाटै सन्ध्या आरतीको प्रत्यक्ष प्रसारण अधिकार हामीले पाएका हौं । आरती प्रत्यक्ष प्रसारण गर्ने विषयमा गत जेठमा नै पशुपति क्षेत्र विकास कोष र हामीबीच सम्झौतामा हस्ताक्षर भएको हो,” सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो विषय विवादित बनेपछि गिरीले टेकपानासँग भने, “सन्ध्या आरतीको प्रत्यक्ष प्रसारण गरेबापत अहिले कोषलाई करबाहेक एक लाख ६० हजार रुपैयाँ प्रतिमहिना तिरिरहेका छौं । यसका साथै एक करोड १३ लाख रुपैयाँ बढीको बैंक ग्यारेन्टी बुझाएका छौं ।”

त्यस्तै अहिले भाइरल भएको सूचना पशुपति क्षेत्र विकास कोषका तत्कालीन कार्यकारी निर्देशकसँगको सम्झौतापछि राखेको उनले बताए । पशुपति क्षेत्रको साँझको आरती प्रसारण गर्ने सम्बन्धी सूचना चार-पाँच महिनाअघिबाटै बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड हुने सामग्रीमा राख्ने गरेको उनले उल्लेख गरे । तर अहिले चर्चामा रहेको उक्त सूचना आम भक्तजनको लागि नभएको उनको जिकिर छ ।

“पशुपति क्षेत्रमा आरतीको प्रत्यक्ष प्रसारण गर्न लागेको थुप्रै महिना भइसक्यो । यो अवधिमा भिडिओ खिचिरहेका भक्तजनहरूलाई नखिच्नु, हामी कपिराइट लगाउँछौं भनेर भनेका थिएनौं । व्यक्तिगत रूपमा खिच्न पाउनुहुन्न भनेका थिएनौं । आम भक्तजनले व्यक्तिगत रुपमा आरतीको भिडिओ खिच्न पाउनुहुन्छ,” उनले भने ।

बरु उक्त सूचना आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्ने भारतीय भक्तजनप्रति लक्षित भएको गिरीले बताए । भारतीय भक्तजनले भिडिओ खिचेर युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा राखिदिने र त्यसले आफ्नो च्या‍नलमा कपिराइटको मुद्दा आउन थालेपछि कोषसँगको सल्लाहमा उक्त सूचना राखेको गिरिले जनाए ।

“भारतीय भक्तजन तथा सञ्चारकर्मीहरूले भिडिओ खिच्न मनाही गरिएको पशुपति क्षेत्रका ठाउँहरूमा निर्बाध भिडिओ खिच्ने गरेका थिए । ती भिडिओहरूलाई सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका थिए,” उनले भने, “त्यसले हामीलाई प्रत्यक्ष असर पार्न थालेको थियो । भारतीय भक्तजनलाई भिडिओ खिच्न निषेध गरिएको क्षेत्रमा छिर्न दिने नेपाली हुन्छन् । अनि ५/६ महिनाअघि नै त्यो सूचना राखेका थियौं ।” 

यता आरतीको भिडिओमा कपिराइट लाग्ने सूचना भाइरल भएपछि अहिले पशुपति क्षेत्र विकास कोषले त्यसमा आफ्नो संलग्नता नरहेको नरहेको जनाएको छ ।  तर बुढासुब्बाका सञ्चालक गिरीले कोषको सूचनामा कुनै सत्यता नभएको जिकिर गरे । पुराना कार्यकारीसँग गरिएको सम्झौता हेर्दै नहेरी अहिलेको कार्यकारीले उक्त सूचना निकालेको गिरीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०८० १६:५५