close

इन्स्टाग्राममार्फत गाँजा मिसिएको केक बेचेको आरोपमा थप २ जना पक्राउ

टेकपाना टेकपाना

पुस २५, २०८० १७:१५

इन्स्टाग्राममार्फत गाँजा मिसिएको केक बेचेको आरोपमा थप २ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अवैध लागू औषध गाँजा मिसाई केक तथा कुकिज बिक्री गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलवार ती युवकलाई मङ्गलवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र ललितपुर बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

प्रहरीका अनुसार ती युवकहरूले इन्स्टाग्राममा ‘Sweetbakery_np’ नामक अकाउन्ट बनाएका थिए । उनीहरूले अवैध लागू औषध गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री वितरण गरिरहेका छन् भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसैको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरू सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

उनीहरूले ललितपुरकाे एकान्तकुनामा घर भाडा लिई प्रयोग गर्दै आएका थिए  । सोही डेरामा खानतलासी गर्दा प्रहरीले १.१ केजी गाँजा, डाँठसहितको गाँजा १.५६८ केजी, बिक्री गर्न तयारी अवस्थाको केक १.९ केजी फेला पारेको छ । सोही कोठामा बिक्री गर्न तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १.३२४ किलो प्रहरीले बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ती युवक विगत एक वर्षदेखि एकान्तकुनामा कोठा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका थिए । सोही कोठाबाट मिसावट गरिएका केक र कुकिज बनाएर अनलाइनमार्फत डेलिभरी गर्दै आएका थिए ।

ग्राहक फेला पार्न र सम्पर्क गर्न उनीहरूले खोलेको इन्स्टाग्राम अकाउन्टमा ७८४ जना फलोअर छन् । उनीहरूले आफ्नो अवैध कारोबारलाई गोप्य रुपमा सञ्चालन गर्नका लागि तयार पारेको इन्स्टाग्राम अकाउन्टमा विश्वासिला व्यक्तिहरूलाई मात्र जोड्ने काम गर्थे । र, त्यहीबाट भनेको ठाउँमा मिसावट केक पठाउँथे ।

उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै पछिल्लो समय फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट लागू औषधको अवैध कारोबार भइरहेकाले त्यस्तो कारोबारबाट सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८० १७:१५