close

टेलिकमले बाँड्यो प्रति शेयर ४० रुपैयाँ नगद लाभांश

टेकपाना टेकपाना

पुस २९, २०८० १५:३१

टेलिकमले बाँड्यो प्रति शेयर ४० रुपैयाँ नगद लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतवार राजधानीमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९-८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले पारित गरे बमोजिमको लाभांश रकम आइतवारदेखि नै एनएमबि बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

करिब ९२ प्रतिशत शेयरधनीको उपस्थिति रहेको साधारणसभाले आर्थिक वर्ष २०७९-८० को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९-८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०-८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड अकाउन्टेन्टहरू नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईंलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १५:३८