close

नेपालमा बसेर करोडौंको अनलाइन जुवा खेलाउने ३ भारतीय नागरिक पक्राउ

टेकपाना टेकपाना

माघ १९, २०८० १९:२०

नेपालमा बसेर करोडौंको अनलाइन जुवा खेलाउने ३ भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध अनलाइन जुवा खेलाएको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार दरबारमार्गबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत पञ्जाव घर भएका ३२ वर्षीय रिसभ पावा, भारत सिद्धार्थ घर भएका ५२ वर्षीय गुलाव सिंह र भारत दिल्ली घर भएका ३९ वर्षीय गौरव सिंह रहेका छन् ।

दरबारमार्गमा रहेको क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अवैध अनलाइन जुवा खेलाउने गरेको गोप्य सूचनापछि खटिएको प्रहरी टोलीले तीन युवकलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार उनीहरूबाट अनलाइन जुवा खेलाउने विभिन्न देशको गरी एक करोड आठ लाख बढीको मुद्रा, तीन थान ल्यापटप, सात थान कम्प्युटर, तीन थान ट्याब्लेट, तीन थान मोबाइल र अनलाइन गेमिङसँग सम्बन्धित कागजात बरामद गरिएको छ । 

आरोपित भारतीय नागरिकमाथि नेपालको कानूनले बन्देज गरेको अवैध अनलाइन जुवा खेलाएको र नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राहरूको वित्तिय कारोबार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । 

 

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १९:३३