close

फेसबुकमा नाबालिकाको नाम राखेर साथीहरूलाई अश्लील मेसेज पठाउने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

माघ २२, २०८० १८:२४

फेसबुकमा नाबालिकाको नाम राखेर साथीहरूलाई अश्लील मेसेज पठाउने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको नाम र फोटो राखेर फेक अकाउन्ट बनाई अश्लील मेसेज पठाएर मानसिक तनाव दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई गत बिहीबार काठमाडौंको भोटाहिटी चोकबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर घर भएका ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् । ब्युरोका अनुसार नाबालिकाको नाम र तस्विर राखी नक्कली फेसबुक अकाउन्ट बनाएको भन्ने उजुरी कार्यालयमा परेको थियो । नाबालिकाका अभिभावकले आरोपी व्यक्तिले नाबालिकासँग फेसबुकमा जोडिएका साथीहरूलाई उक्त नक्कली अकाउन्टबाट मेसेज पठाउने गरेको गुनासो गरेका थिए । 

यसरी नाबालिकालाई मानसिक तनाव, दुःख, हैरानी दिई चरित्र हत्या गरेपछि उक्त उजुरीलाई लिएर अनुसन्धान गर्दै जाँदा महर्जन पक्राउ परेका हुन् । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १८:२४