close

३ महिनामा टेलिकमको सञ्चालन आय ३६ करोड बढ्दा नाफा भने उल्टै ९ करोड घट्यो

टेकपाना टेकपाना

फागुन १, २०८० १६:२९

३ महिनामा टेलिकमको सञ्चालन आय ३६ करोड बढ्दा नाफा भने उल्टै ९ करोड घट्यो

काठमाडौं । पछिल्लो तीन महिनामा नेपाल टेलिकमको सञ्चालन आय करिब ३६ करोडले वृद्धि भएको छ । कम्पनीले मङ्गलबार सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनले ग्राहकबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३५ करोड ९६ लाख ६१ हजार रुपैयाँले बढाएको हो ।

गत वर्ष कात्तिक, मङ्सिर र पुस गरी तीन महिनाको अवधिमा टेलिकमले सेवा बिक्री गरी ग्राहकबाट कूल आठ अर्ब ३० करोड २० लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस वर्षको सोही अवधिमा भने कम्पनी आठ अर्ब ६६ करोड १७ लाख १६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । 

तर बैंक निक्षेपबाट प्राप्त हुने आम्दानी घट्दा त्यसको असर कम्पनीको समग्र कूल आम्दानीमा परेको छ । जसका कारण टेलिकमको कूल आम्दानी भने गिरावट देखिएको छ । समीक्षा अवधिमा गत वर्षको तुलनामा टेलिकमको ब्याज आम्दानी मात्रै ९७ करोड ८० लाख २३ हजारले घटेको देखिन्छ । 

साथै अन्य आम्दानी १३ करोड एक लाख ५८ हजार रुपैयाँले बढेको छ । यसरी समग्रमा कम्पनीले समीक्षा अवधिको तीन महिनामा १० अर्ब ६६ करोड पाँच लाख ८७ हजार रुपैयाँ कूल आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४८ करोड ८२ लाख चार हजार रुपैयाँले थोरै हो ।

 ब्याज आम्दानी घट्दा त्यसको असर कम्पनीको खुद मुनाफामा समेत परेको छ । गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यस वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफामा नौ करोड नौ लाख एक हजार रुपैयाँ गिरावट देखिएको छ । 

चालि आर्थिक वर्षको सुरुवाति छ महिनासम्मको वित्तीय कारोबारको कुरा गर्ने हो भने पनि कूल आम्दानी र खुद मुनाफा दुवै घटेको देखिन्छ । गत वर्षको सुरुवाति छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा कम्पनीको कूल आम्दानी ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले घटेर २१ अर्ब ३० करोड ९३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ । 

त्यस्तै सुरुवाति छ महिनाको खुद मुनाफा पनि ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेर तीन अर्ब ९३ करोड १४ लाख चार हजार रुपैयाँमा खुम्चिएको छ । 

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कूल आम्दानी र खुद मुनाफामा घट्नुको कारण बारे जानकारी दिएको छ । कम्पनीका अनुसार ओटीटी सेवाको बढ्दो प्रयोग, प्रतिकूल मौसमका कारण मर्मत सम्भारमा भएको ढिलाई, दुर्गम तथा विकट स्थानमा समेत सेवा विस्तार गर्नुपर्ने दायित्व, सेवाको घट्दो मूल्य र बैंक ब्याजदरमा भएको परिवर्तनले कम्पनीको वित्तीय प्रदर्शनमा नकारात्मक असर परेको हो ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८० १६:२९