close

हुम्लाका विकट गाउँमा पुग्यो फोरजी सेवा

टेकपाना टेकपाना

फागुन ३, २०८० १३:११

हुम्लाका विकट गाउँमा पुग्यो फोरजी सेवा

काठमाडौं । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको ताँजाकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा पुगेको छ । टावर सञ्चालनमा आएपछि ताँजाकोट गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको टेलिकमले जनाएको छ ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

उनका अनुसार फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान-प्रदानको कामसमेत सहज हुने भएको छ । ताँजाकोटका पाँच ओटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि उनले सुनाए ।

ताँजाकोट-१ जिमानाको लेकमा राखिएको फोरजी टावरले छिमेकी अदानचुली गाउँपालिकाका केही क्षेत्र, छिमेकी जिल्ला मुगु र बाजुरामा समेत काम गर्नेछ ।

त्यस्तै हिमाली जिल्ला डोल्पाका दुई स्थानमा पनि नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ । जिल्लाको काइके गाउँपालिका र ठूलीभेरी नगरपालिकामा फोरजी सेवा सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८० १३:१७